हेटौंडामा नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) सम्मानित

हेटौंडा । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई हेटौंडामा विशेष सम्मान गरिएको छ। सञ्चारिका समूह मकवानपुरले शनिबार आयोजना गरेको “देश चिनाउने सम्बासँग हाम्रो चिनजान” कार्यक्रममा कप्तान भण्डारीलाई सम्मान गरिएको हो।

कार्यक्रममा सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनियाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवम् शिक्षाविद् पुरनबहादुर जोशीले भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे।

सम्मान ग्रहणपछि बोल्दै कप्तान साम्बाले आफूले मोजाबाट बनाइएको भकुण्डोबाट फुटबल यात्रा सुरु गरेको उल्लेख गरिन्। उनले सुरुवाती दिनमा गरेको संघर्षकै कारण आफू आजको स्थानमा आइपुगेको बताइन्। “अरु बच्चाहरु फुटबल खेलिरहेका बेला मेरो हातमा मोजाको भकुण्डो हुन्थ्यो,” उनले भनिन्।

साम्बाले हाल खेलकुदप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको बताउँदै नयाँ पुस्ताले खेल्नका लागि आवश्यक सामग्रीको अभाव नरहेको जनाइन्। स्थानीय सरकारहरूले पनि खेलकुदलाई प्राथमिकतामा राख्न थालेकोमा उनले खुशी व्यक्त गरिन्।

“फुटबलको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ भन्ने सोचमा हामी महिला टिम अघि बढिरहेका छौं,” कप्तान साम्बाले भनिन्। उनले खेलसँगै शिक्षा पनि उत्तिकै आवश्यक रहेको धारणा व्यक्त गरिन् र नेपालका महिलाहरूको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रियस्तरमा देश चिनाउन आफू सदैव समर्पित रहने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख बाँनियाले सावित्रा भण्डारी, प्रिति राई जस्ता खेलाडीहरूले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको उल्लेख गरे। उनले ‘एक वडा, एक खेल मैदान’ अवधारणाअनुसार उपमहानगरपालिकाले धेरै वडामा खेलमैदान निर्माण गरिरहेको जानकारी दिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, सञ्चारिका समूह मकवानपुरकी संस्थापक अध्यक्ष सरिता दाहाल, शिक्षाविद् जोशीलगायतले मन्तव्य राखेका थिए।

सम्मान कार्यक्रममा मकवानपुरका विभिन्न विद्यालयका विद्यार्थी, खेलप्रेमी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.