बागमती प्रदेश कृषि मन्त्रालयको प्रगति सार्वजनिक, ७० वटा वडामा आत्मनिर्भर कृषि कार्यक्रम सञ्चालन

हेटौंडा । बागमती प्रदेश सरकार अन्तर्गतको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ को प्रगति विवरण सार्वजनिक गरेको छ। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री प्रकाश श्रेष्ठले मन्त्रालयबाट सम्पन्न ३६ वटा मुख्य उपलब्धिहरू सार्वजनिक गरेका हुन्।

मन्त्री श्रेष्ठका अनुसार, कृषि विकास कार्यालय र पशु सेवा कार्यालय नभएका जिल्लामा सेवा पु‍र्‍याउन कृषि तथा पशु सेवा केन्द्रहरू स्थापना गरिएको छ। पाँच वर्षसम्म सञ्चालन हुने ‘स्वनिर्भर वडा कार्यक्रम’ अन्तर्गत गत र चालू वर्षमा छनौट भएका ७० वडामा साझेदार संस्थासँग सम्झौता भई कार्यान्वयन भइरहेको छ। प्रत्येक वडालाई ४० लाख रुपैयाँका दरले सहयोग गरिएको छ।

पशु स्वास्थ्यका क्षेत्रमा समेत महत्वपूर्ण उपलब्धि हासिल गरिएको मन्त्रालयको दाबी छ। भेडा बाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रणका लागि १५ लाख ३२ हजार ३२६ पशुमा खोप लगाइएको छ भने गाईभैंसीमा फैलिएको लम्पी स्किन रोग विरुद्ध ७१ हजार ९७७ पशुमा निःशुल्क खोप लगाइएको छ।

हेटौंडा–१० मा दैनिक ६० हजार लिटर दूधको पाउडर उत्पादन गर्न सक्ने दूध पाउडर प्लान्ट निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम चरणमा पुगेको जनाइएको छ। त्यसैगरी, हेटौंडा–११ मा प्रदेश सरकार र उपमहानगरपालिकाको साझेदारीमा निर्माण भएको प्रादेशिक कृषि थोक बजार श्रावण १८ गतेदेखि सञ्चालनमा ल्याइने तयारी गरिएको छ।

पशु स्वास्थ्य सेवामा सुधार ल्याउन चितवनमा आधुनिक भेटेरिनरी अस्पताल निर्माण गरिएको र ‘एक वडा, एक पशु स्वास्थ्य क्लिनिक’ योजना अन्तर्गत प्रदेशका २६ स्थानमध्ये २२ भवनको निर्माण सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरण गरिएको विवरणमा उल्लेख छ। तीमध्ये मकवानपुरमा ३, सिन्धुली र रामेछापमा २/२, दोलखा र सिन्धुपाल्चोकमा ३/३, काभ्रेमा ५ र चितवनमा ४ वटा भवन निर्माण भइसकेका छन्।

कृषि शिक्षा र अनुसन्धान प्रवर्द्धनका लागि स्नातक, स्नातकोत्तर र विद्यावारिधी गर्नेहरूलाई क्रमशः ८ लाख, १० लाख र २२ लाख रुपैयाँका दरले अनुदान प्रदान गरिएको छ। उन्नत विउ उत्पादनका लागि चितवन जिल्लाका १ हजार २५३ कृषकलाई १ करोड ४४ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइएको छ।

प्रविधिमैत्री कृषि प्रणालीलाई अघि बढाउँदै प्रदेशका ९ वटा स्थानीय तहमा सूचना प्रविधिमा आधारित कृषि बजार केन्द्र स्थापना गरिएको छ। यी केन्द्रहरूमा विषादी परीक्षण प्रयोगशाला र कृषि एम्बुलेन्स सेवा समेत उपलब्ध गराइएको छ।

मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजित २ अर्ब ५० करोड ६४ लाख रुपैयाँमध्ये ६७.२९ प्रतिशत बजेट खर्च गरेको जानकारी समेत मन्त्री श्रेष्ठले दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.