हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागिता जनाइरहेका नेपाली कांग्रेसका चार मन्त्रीले शुक्रबार एकैपटक पदबाट राजीनामा दिएका छन्। यस घटनाले प्रदेशको सत्ता समीकरण मात्र होइन, सत्तारूढ नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तोष र शक्ति संघर्षलाई पनि सतहमा ल्याएको छ।
राजीनामा दिने मन्त्रीहरूमा संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन्। यी सबै मन्त्री कांग्रेसको तर्फबाट सरकारमा सहभागी भएका थिए।
प्रदेश सरकारमा कांग्रेसका आठ जना मन्त्रीमध्ये आधाले पद त्याग गरेपछि सरकारको स्थायित्वमा समेत प्रश्न उठ्न थालेको छ। स्रोतका अनुसार, राजीनामा दिने मन्त्रीहरू पार्टी संसदीय दलका नेता तथा वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामासँग असन्तुष्ट छन्। उनीहरूले लामालाई हटाएर नयाँ नेतृत्व चयन गर्नुपर्ने माग राख्दै नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाएका छन्।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा हाल ३७ जना सांसद छन्। तीमध्ये २४ जना लामालाई मुख्यमन्त्री पदबाट हटाउने पक्षमा रहेको बताइएको छ। तर, संसदीय दलको नेताविरुद्ध बुझाइएको पत्रमा भने २१ सांसदको मात्र हस्ताक्षर रहेको उल्लेख गरिएको छ। असन्तुष्ट पक्षले मुख्यमन्त्रीलाई ‘ह्वाट्स एप’मार्फत आफ्नो निर्णय जानकारी गराएको जनाइएको छ, जसले आन्तरिक संवादको अभाव र प्रक्रियागत अस्पष्टतामाथि पनि प्रश्न उठाएको छ।
प्रदेश सरकारभित्र देखिएको यो राजनीतिक संकटले नेपाली कांग्रेसको आन्तरिक एकतालाई चुनौती दिएको छ। अबको केही दिन बागमती प्रदेशको सत्ता समीकरण र कांग्रेसको नेतृत्व भविष्यवाणी गर्ने दृष्टिले निर्णायक बन्ने आँकलन गरिएको छ।































