हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ९० करोड ६ लाखको बजेट ल्याएको छ। पालिकाको बार्हौँ गाउँसभामा अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष संजीव श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
पछिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षको बजेट केही वृद्धि भएको छ। गत वर्ष गाउँपालिकाले ८५ करोड ४५ लाख ८७ हजार ९ सय ९८ रुपैयाँ २० पैसाको बजेट ल्याएको थियो।
पर्यटन प्रवद्र्धन र ऐतिहासिक शहरको पुनर्जागरणमा जोड
अध्यक्ष लामाका अनुसार यो नीति तथा कार्यक्रमले समग्र गाउँपालिकाको समृद्धि र विकासमा टेवा पुग्नेछ। ऐतिहासिक भीमफेदी शहरलाई पुनर्जीवित गरी सांस्कृतिक शहरको रूपमा विकास गर्ने, निजी क्षेत्रको सहकार्यमा केबलकार जस्ता पर्यटकीय संरचना निर्माण गर्न आवश्यक सहजीकरण गर्ने योजना नीति तथा कार्यक्रममा उल्लेख छ।
कृषि र व्यवसाय प्रवद्र्धन
गाउँपालिकाले पालिका क्षेत्रभित्र उत्पादन हुने रायोको साग, मुला, बन्दा, काउलीजस्ता हरियो तरकारीको उचित मूल्य सुनिश्चित गर्न कृषि उपज प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ। साथै, पालिकाभित्र दर्ता हुने व्यवसायिक प्रतिष्ठानहरुलाई निःशुल्क दर्ता गरिनेछ, र लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत र कानूनी सुधार गरिनेछ।
सामाजिक सुरक्षामा महिला स्वयंसेविकाको सहभागिता
अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइनेछ। यस वर्षदेखि स्वास्थ्य महिला स्वयंसेविकालाई पनि सहभागी गराउने निर्णय गरिएको छ।
शिक्षा र भाषा नीतिमा नयाँ अभ्यास
सभ्य, खुसी, शिक्षित र समृद्ध भीमफेदी निर्माण गर्ने उद्देश्यका साथ शिक्षा क्षेत्रमा विविध योजना ल्याइएको छ। शुक्रबारलाई किताव रहीत दिन घोषणा गर्दै, सो दिन खेलकुद, सिप सिकाइ, मोबाइल र कम्प्युटर मर्मतजस्ता प्राविधिक विषयमा अभ्यास गराउने नीति सार्वजनिक गरिएको छ।
त्यस्तै, तामाङ भाषामा अध्ययन–अध्यापन सुरु गरिनेछ भने विज्ञान, गणितजस्ता विषयमा रुचि बढाउन STEM क्याम्प सञ्चालन गरिनेछ।
स्वास्थ्य र सामाजिक समावेशीकरण
विपन्न नागरिकको उपचारमा सहयोग पुर्याउन आकस्मिक कोष स्थापना गरिनेछ। साथै, खानेपानी, लैंगिक समानता, सांस्कृतिक संरक्षण र सामाजिक समावेशीकरणलाई विशेष प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले जानकारी दिए।
विपद् व्यवस्थापन र वन संरक्षण
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न उपाय अपनाइनेछ। वन क्षेत्रको संरक्षण, विकास र बहुउपयोग गर्ने नीति पनि पालिकाले अघि सारेको छ।































