कैलाश गाउँपालिकाले आगामी वर्षका लागि ५३ करोड ८६ लाखको बजेट सार्वजनिक

हेटौंडा | मकवानपुर जिल्लाको सबैभन्दा विकट मानिने कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड ८६ लाख २० हजार १ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

मंगलबार सम्पन्न १६औं गाउँसभाबाट प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ३२ करोड ८२ लाख ३ हजार १ सय रुपैयाँ (६०.९ प्रतिशत) र पूँजीगत खर्चतर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ (३९.१ प्रतिशत) विनियोजन गरिएको हो।

गत आर्थिक वर्षको तुलनामा ५ करोड रुपैयाँले बजेट वृद्धि भएको गाउँपालिकाले जनाएको छ। चालु आर्थिक वर्षमा ४८ करोड ७८ लाख रुपैयाँको बजेट थियो।

मुख्य बजेट विनियोजन विवरण:
आर्थिक विकास: २ करोड ७७ लाख ६४ हजार
सामाजिक विकास (चालु र पूँजीगत): २३ करोड ४९ लाख ६४ हजार
पूर्वाधार विकास (पूँजीगत): १६ करोड ४४ लाख
वातावरण तथा विपद् (पूँजीगत): ४३ लाख
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र (चालु र पूँजीगत): ९२ लाख ९२ हजार १ सय
प्रशासनिक खर्च: ९ करोड ७९ लाख

गाउँपालिकाले समाजका सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति तथा सहिद परिवारका बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने, विद्यालयबाट वञ्चित बालबालिकालाई शिक्षा पहुँच सुनिश्चित गर्ने, तथा निशुल्क माध्यमिक तहसम्मको शिक्षाको संवैधानिक हक कार्यान्वयन गर्ने नीति लिएको छ।

साथै, सहकारी संस्थाको सुदृढीकरण, विपद् व्यवस्थापनमा ४३ लाखको बजेट, तथा बालविवाह न्यूनीकरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।

गाउँपालिकाले चेपाङ समुदायको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई संरक्षण गर्दै चेपाङ संरक्षित क्षेत्रको रुपमा विकास गर्ने नीति लिएको छ। साथै, “हिंसामुक्त गाउँपालिका हाम्रो पहिचान” अभियान सञ्चालन गर्दै शून्य सहनशीलता नीति लागू गरिने र अतिविपन्न, सीमान्तकृत तथा अल्पसंख्यक महिलाहरुलाई प्राथमिकतासहित ग्रामिण महिला स्वरोजगार कार्यक्रम अघि बढाइने बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.