हेटौंडा । हेटौंडामा सुरु भएको ‘नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०८२’ को भव्य उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले प्रमुख आतिथ्यमा गर्नुभयो।
नेपाल स्पोर्ट सेन्टर (नेकोस) को आयोजनामा भएको यो प्रतियोगितामा विभागीय र प्रदेशस्तरका गरी ७ वटा महिला टोलीहरूको सहभागिता रहेको छ। खेलकुदमार्फत महिला सशक्तिकरण तथा राष्ट्रिय स्तरका खेल प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता आजबाट सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल एपीएफ क्लब पराजित भएको छ। काठमाडौंस्थित टिप टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब ले एपीएफलाई २७–२५, २५–१५, २५–२२ को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख मीनाकुमारी लामाले खेलकुद क्षेत्रको विकासमा हेटौंडा उपमहानगरपालिकाको निरन्तर सहयोग रहने बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताहरूले स्थानीय तहबाटै खेलाडी उत्पादन गर्न सघाउने विश्वास व्यक्त गर्दै नगरपालिकाले खेलाडीको हौसला बढाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नेकोसका अध्यक्ष, विभिन्न खेलकर्मी, प्रशिक्षक, स्थानीय जनप्रतिनिधि र ठूलो सङ्ख्यामा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो। प्रतियोगिता असार ११ गतेसम्म चल्नेछ।
































