हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा लेखा व्यवस्थापन सम्बन्धी ६ दिने तालिम हेटौंडामा सुरु भएको छ।
तालिमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले गरेकी हुन्। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख लामाले सहकारीमा देखिएको वित्तीय समस्याको समाधान गर्न लेखा व्यवस्थापनमा दक्ष जनशक्ति आवश्यक रहेको बताइन्। उनले सहकारीको वास्तविक अवस्था बुझ्न सक्ने व्यक्ति नै लेखा व्यवस्थापक भएकाले उनीहरू सचेत हुनु जरूरी रहेको औंल्याइन्।
सहकारी क्षेत्रमा देखिएका समस्यालाई नियमन र अनुगमनमार्फत समाधान गर्न उपमहानगरपालिका सक्रिय रहेको जानकारी दिँदै प्रमुख लामाले केही सहकारीमा देखिएका समस्यालाई समाधान गर्न उपमहानगरले गम्भीरताका साथ नियालिरहेको बताइन्।
तालिम कार्यक्रम संघका सचिव बिरेन्द्रप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटा, संघका सहसचिव विजयबहादुर बस्नेत, कोषाध्यक्ष विष्णुमाया लामा, सञ्चालक सदस्य जानकी चौधरी, र व्यवस्थापक सुमित्राकुमारी बाईवाको आतिथ्यता रहेको थियो।
उक्त तालिममा हेटौंडा क्षेत्रका ३५ वटा बचत तथा ऋण सहकारी संस्थाका लेखा व्यवस्थापकहरूको सहभागिता रहेको छ। तालिमले सहकारीहरूको वित्तीय प्रणालीलाई अझ पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन टेवा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।