हेटौंडा । स्थानिय रैथाने बिउको संरक्षण र धान उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले धान पकेट क्षेत्रका किसानलाई यान्त्रिक उपकरण वितरण गरेको छ।
बागमती प्रदेश सरकारसँगको सहकार्यमा उपमहानगरपालिकाले हेटौंडा–१७ हटियामा अवस्थित साना किसान कृषि सहकारी संस्था मार्फत उपकरण वितरण गरेको हो। चालु आर्थिक वर्षमा १३ लाख रुपैयाँ खर्चेर कार्यक्रम सञ्चालन गरिएको उपमहानगरले जनाएको छ।
बुधवार आयोजित कार्यक्रममा उपमहानगरकी नगर प्रमुख मीनकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा १५५ वटा इलेक्ट्रिक स्प्रे, १६० वटा त्रिपाल, ६ वटा हाते ट्र्याक्टर, ५ वटा कम्बाइन राइस मिल, १० वटा पानी तान्ने मोटर र २ वटा डिजिटल काटा किसानलाई अनुदानमा वितरण गरिएको हो।
सामग्री वितरण गर्दै नगर प्रमुख लामाले उत्पादनसँग जोडिएको कृषि प्रणालीतर्फ ध्यान दिनुपर्ने बताउँदै उपमहानगरले विभिन्न क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विकास गर्दै आएको जानकारी दिइन्। “हेटौंडाबाट उत्पादित कृषि उपज अहिले देशभर बिक्री वितरण भइरहेको छ,” उनले भनिन्।
कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष र आगामी वर्ष २०८२/०८३ सम्म दुई वर्ष सञ्चालन हुने गरी किसानलाई धान खेतीसम्बन्धी दुईवटा तालिम र ७ टन रैथाने बिउ वितरण गरिएको छ। सहकारीका अनुसार ४ टन ‘मकवानपुरे छोटे’ र ३ टन ‘रामधान’ जातको बिउ वितरण गरिएको हो।
साना किसान कृषि सहकारी संस्था अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा–१७ का वडाध्यक्ष उद्धव सत्याल, वडा सदस्य नवराज न्यौपाने, उपमहानगरको आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटा, कृषि शाखा प्रमुख प्रदीप रेग्मी, महिला उद्यमी गीता कडरिया मैनाली र कृषि प्राविधिक गणेश खड्का लगायतको उपस्थिति थियो।
उपमहानगरले हेटौंडा–१७ को चुच्चेखोला देखि महादेव खोला सम्मको क्षेत्रलाई धान पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।