मकवानपुर । ईन्द्रेणी मसरुम फार्म लिमिटेड काठमाडौंको मकवानपुरगढी गाउँपालिका ५, कालिवनमा सामरी युनिट शिलान्यास गरिएको छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले च्याउ उत्पादन युनिटको शिलान्यास गरेका हुन् ।
प्रदेशमा रहेका करिब ६ लाख किसानको सुचिकरण, वर्गीकरण, अभिलेखिकरण अन्तिम चरणमा पुगेको मन्त्री श्रेष्ठले बताए । प्रदेशका ६ वटा स्मार्ट फार्म संचालन गर्न कृषि मन्त्रालयले साझेदारी गर्ने उनले बताए ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका १२ बलम्बुमा वि.सं. २०७१ सालमा स्थापित कम्पनीले मकवानपुरको चित्लाङ फार्मपछि दोश्रो सामरी युनिट स्थापना गरेको हो । कम्पनीको ४४ कठ्ठा जमिनमा च्याऊसँगै च्याऊको विऊ र कम्पोष्ट मल उत्पादनसँगै तालिम पनि संचालन गरिने ईन्द्रेणी मसरुम फार्मका अध्यक्ष धर्मेन्द्र महर्जनले बताए ।
उच्च प्रविधिको प्रयोग गरेर च्याऊ उत्पादन गर्ने उनले जानकारी दिए । असोज देखी दैनिक एक हजार र अर्को वर्षदेखी दैनिक तीन हजार किलो च्याऊ उत्पादन गर्ने बताए ।
सामरी युनिटमा तीन वर्षमा १५ करोड लगानी गर्ने र पछि थप ९ करोड रुपैया लगानी गर्ने उनले बताए । भदौ देखी कम्पोष्ट मल र असोज देखी च्याऊ उत्पादन गरी नेपाल भर वितरण गर्ने भन्दै उनले च्याऊ उत्पादन तालिमसँगै च्याऊको विऊ पनि विक्री गर्ने लक्ष्य रहेको बताईएको छ ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरु केशव प्रसाद पोखरेल, विन्दु श्रेष्ठ, मकवानपुरगढी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष रिपेश दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद बजगाई, निवर्तमान वडा अध्यक्ष टीका दाहाल, अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष विष्णु दंगाल लगायतको आतिथ्य रहेको थियो ।