हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ स्थित लेखपानी बस्तीमा छिट्टै खानेपानीको सुविधा पुर्याउने प्रतिबद्धता हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले व्यक्त गर्नुभएको छ।
जीवनज्योति आधारभूत विद्यालयमा आयोजित पर्खाल निर्माण सम्पन्न समारोह तथा शैक्षिक प्रदर्शनी मेला उद्घाटन कार्यक्रममा बोल्दै उपमेयर बानियाँले गाग्री बोकेर टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता देखेर आफू भावुक बनेको भन्दै अब उक्त समस्या समाधानतर्फ नगरपालिकाले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो।
“मैले लेखपानीको भौगोलिक अवस्था राम्ररी नबुझेकै कारण पछाडि परेको रहेछ। अब विद्यालयदेखि सुरुवात गर्दै समग्र क्षेत्रको विकासमा जुट्नेछु,” उपमेयर बानियाँले भन्नुभयो। साथै, उहाँले बालबालिकालाई आवश्यक पर्ने खाद्यान्नको व्यवस्था बजेटमै समावेश गरेर लैजाने पनि प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रममा पत्रकार कमलचन्द्र सुमन र मञ्जिता मैनालीलाई विद्यालयमा लामो समयदेखि पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो।
विद्यालय अध्यक्ष प्रेमबहादुर गोलेका अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त ८ लाख रुपैयाँको बजेटमा विद्यालय वरिपरि पर्खाल लगाइएको छ, जसका कारण बालबालिका अब सुरक्षित वातावरणमा अध्ययन गर्न सक्ने भएका छन्। पर्खाल निर्माणको पहलबारे प्रकाशित समाचार र स्थानीय अभिभावकहरूको सक्रियताबाट सम्भव भएको अध्यक्ष गोलको भनाइ छ।
हाल जीवनज्योति विद्यालयमा कक्षा ५ सम्म मात्र अध्ययन सुविधा छ। त्यसपछि लगभग ७० प्रतिशत बालबालिकाले पढाइ छाड्ने गरेको तथ्य सार्वजनिक गरिएको छ। आर्थिक अवस्था कमजोर भएका अभिभावकले बच्चाहरूलाई लेवट बजारसम्म पढ्न पठाउन नसक्ने भएकाले यस्तो अवस्था आएको हो। अन्य ३० प्रतिशत बालबालिकाका अभिभावक भने केही सचेत भएका कारण उनीहरूलाई लेवट बजारसम्म पुर्याएर पढाउने गरेका छन्।
विद्यालय नजिक माध्यमिक तह नहुनु, आर्थिक अवस्था कमजोर हुनु र सामाजिक चेतनाको अभावले गर्दा कतिपय बालबालिका १५-१६ वर्षकै उमेरमा भागीविवाह गर्ने प्रवृत्ति बढ्दै गएको छ। अभिभावकहरूमध्ये केहीले ‘पाँच कक्षा पढेपछि अक्षर चिने पुग्छ’ भन्ने सोच राखेकाले पनि शिक्षाको निरन्तरता चुनौतीपूर्ण बनेको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।