हेटौंडा — रोटरी क्लब अफ हेटौंडा अन्तर्गतको रोटरी सामुदायिक संघ हाँडिखोलाको चौथो साधारणसभा तथा अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। अधिवेशनले पुनः अम्बिका पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा बबिता लुईटेल, सचिवमा सुनिता पण्डित, कोषाध्यक्षमा सरिता सुवेदी चयन भएका छन्। त्यस्तै सदस्यहरूमा लक्ष्मी थापा, सानु सुनार, सुशिला बर्तौला, मिठु कार्की, पार्वती प्रजा, सुनमाया बल र शान्तादेवी बर्तौला रहेका छन्।
कार्यक्रम रोटरी ईन्टरनेश्नल डिष्ट्रिक्ट ३२९२ का माईक्रो क्रेडिट डिष्ट्रिक्ट चेयर धिरजकुमार कार्की क्षेत्रीको प्रमुख आतिथ्यतामा र अम्बिका पौडेलको सभाध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा रोटरी जोन ३७ का एसिस्टेन्ट गभर्नर रामप्रसाद शर्मा, रोटरी सामुदायिक संघ समितिका सहसंयोजक इन्द्र नेपाल, रोटरी क्लब हेटौंडाका पूर्व अध्यक्ष सुरेशराज पराजुली, वर्तमान अध्यक्ष प्रकाश ढकाल, निर्वाचित अध्यक्ष प्रमेश प्रधान, सचिव उमाप्रसाद रैनियार, सहकोषाध्यक्ष सुदर्शन ढकाल, पत्रकार अशोकसुजन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
रोटरी ईन्टरनेश्नल डिष्ट्रिक्ट ३२९२ अन्तर्गत हाल १६२ वटा क्लब र १२७ वटा रोटरी सामुदायिक संघहरू क्रियाशील छन्। मकवानपुर जिल्लामा हाँडिखोला र गौरिटारस्थित चुरेशिखर गरी दुईवटा रोटरी सामुदायिक संघहरू रहेका छन्। यी दुई संघअन्तर्गत ४५ वटा समूहहरूमा करिब ४ सय महिलाहरू आवद्ध छन्।
सामुदायिक संघहरूले गाईपालन, बाख्रापालन, कुखुरापालन, तरकारी खेती, सिलाईकटाई जस्ता लघु उद्यममार्फत महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।
करीब ५५ लाख रुपैयाँ बिऊ पूँजीबाट गरिब तथा विपन्न महिलालाई विना ब्याज सापटी रकम उपलब्ध गराउँदै आएको छ। सन् २०११ मा मकवानपुरमा पहिलो रोटरी सामुदायिक संघ स्थापना भएको थियो।
हाल रोटरी माईक्रो क्रेडिट अभियानमा विश्वका सयभन्दा बढी देशका ५४ लाख महिलासहित एक करोडभन्दा बढी व्यक्ति संलग्न छन्।