हेटौंडा, २३ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) हेटौंडा उपमहानगरपालिका कमिटीले देशको विद्यमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थाको समिक्षासहित नगर प्रमुख मिना कुमारी लामालाई २६ बुँदे सुझावपत्र पेश गरेको छ।
सोमबार हेटौंडामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय समिति सल्लाहकार यादव गजुरेल, जिल्ला अध्यक्ष विष्णु दाहाल, सचिव ध्रुव भुजेल, प्रदेश समिति सदस्य, नगर कमिटीका पदाधिकारीसहितको टोलीले नगर प्रमुख लामा समक्ष ज्ञापनपत्र बुझाएका हुन्।
सुझावपत्रमा जनताको अस्पतालको सुधार, फोहोर व्यवस्थापन, २५ मिटर सडकको निर्माण, लागुऔषध नियन्त्रण, युवाका लागि स्वरोजगार कार्यक्रम सञ्चालन, “एक व्यक्ति = एक अवसर = एक सिप” कार्यक्रमको विस्तार, आर्थिक पारदर्शिता लगायतका विषयमा विशेष जोड दिइएको छ। पार्टीले यी प्रस्तावहरूलाई दीगो विकास, नागरिकका समस्या समाधान तथा सुशासन स्थापनाका लागि महत्त्वपूर्ण कदमका रूपमा अगाडि सारेको जनाएको छ।
ज्ञापनपत्रमा भनिएको छ, “नेपाली जनताले सात दशक लामो संघर्षपछि प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र आज सत्ताको खेलमा सीमित हुँदै गएको छ। बेरोजगारी, भ्रष्टाचार, कुशासन र जनताप्रतिको उत्तरदायित्वको अभावले मुलुक पुनः संकटमा फँसिरहेको छ।”
सुझावपत्रमा संविधानले सुनिश्चित गरेका मौलिक हक-अधिकार, आर्थिक आत्मनिर्भरता, पारदर्शी प्रशासन, सुशासन, गुणस्तरीय स्वास्थ्य र शिक्षा, भ्रष्टाचारमुक्त व्यवस्था, युवालाई स्वदेशमै अवसर दिने कार्य प्राथमिकतामा राख्न नगरपालिकालाई आग्रह गरिएको छ।
पार्टीले वर्तमान अवस्थामा राजनीतिक दलहरू विचार र सिद्धान्तविहीन दिशातर्फ उन्मुख भएको भन्दै अबको बाटो सामाजिक न्याय, समावेशिता, आत्मनिर्भरता र समाजवादी उन्मुख विकास मोडल हुनुपर्ने उल्लेख गरेको छ।