मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्कबाट ३० किलो लागुऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले विशेष सूचनाको आधारमा आज बिहान १० बजे लागुऔषध ओसारपसार भइरहेको सूचना पाएपछि हेटौंडा बसपार्कबाट वीरगञ्जतर्फ गइरहेको बा.प्र.०३–०१ ज ९७४ नम्बरको ईभी गाडी जाँच गर्दा लागुऔषध बरामद भएको हो।
गाडीमा सवार चितवनको राप्ती नगरपालिका–८, खुरखुरे बस्ने करिब ३० वर्षीया लालमाया तामाङको साथबाट प्रहरीले ३० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार गाडीको छतमा रहेको जेब्रा झोलाभित्र लुकाइ राखिएको तीन वटा पोका खोलेर जाँच गर्दा गाँजा भेटिएको हो।
प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको नेतृत्वमा खटिएको टोलीले लागुऔषध बरामद गरी तामाङलाई नियन्त्रणमा लिएको र लागुऔषध कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको जनाएको छ।