हेटौँडा । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले नेपालको राजनीति डामाडोल अवस्थामा पुगेको बताएका छन्। सोमबार हेटौँडामा आयोजित वाईसिएल (यंग कम्युनिस्ट लिग) मकवानपुरको पाँचौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार संख्या अनुसार दुई-तिहाई बहुमतमा रहेपनि सुशासन कायम गर्न असफल भएको टिप्पणी गरे।
उपाध्यक्ष पुनले सरकारकै गतिविधिका कारण दलाल पुँजीपतिहरूको मनोबल उच्च भएको आरोप लगाए। उनले भने, “भ्रष्टाचारीहरूलाई कारबाही गर्नुको सट्टा सरकारले संरक्षण गरिरहेको छ।”
उनले देशको अर्थतन्त्र अत्यन्तै नाजुक अवस्थामा पुगेको उल्लेख गर्दै केही अदृश्य शक्तिहरूले राज्यका संयन्त्रहरूलाई घेराबन्दी गरी अर्थतन्त्रलाई ध्वस्त पारेको आरोप लगाए। संविधान, सरकार, न्यायपालिका लगायतका संरचनामा ती शक्तिहरूको सञ्जाल फैलिएको पुनको दाबी छ। “राष्ट्रियतामाथि हस्तक्षेप गर्ने शक्तिहरूसँग ती सञ्जालको साँठगाँठ छ,” उनले भने।
पूर्व उपराष्ट्रपतिका रूपमा काम गर्दा ती शक्तिहरूको पहिचान भइसकेको उल्लेख गर्दै उनले अब देश बचाउनका लागि त्यस्ता सञ्जालहरू तोड्नुपर्ने आवश्यकता औंल्याए।
उनले गणतन्त्र जोगाउने जिम्मेवारी माओवादीकै रहेको पनि स्पष्ट पारे। संविधानसभालाई पुनः ब्युँताउने कार्य माओवादीको १० वर्षे सशस्त्र जनयुद्धकै कारण सम्भव भएको उनले दाबी गरे।
कार्यक्रममा वाईसिएल मकवानपुरका संयोजक लवराज ठकुरीको अध्यक्षतामा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, जिल्ला इन्चार्ज विजय गौतम, वाईसिएल केन्द्रिय अध्यक्ष सुबोध श्रीपाइली, बागमती प्रदेश अध्यक्ष लगायत नेताहरूले समेत सम्बोधन गरेका थिए।