हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा प्रहरीले विशेष चेकजाँचको क्रममा सुमो गाडीबाट २२५ बोतल लागुऔषध ONEREX बरामद गरेको छ। लागूऔषधसहित सुमो गाडी र एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार बिहान करिब ६:०५ बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँच गर्ने क्रममा अमलेखगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको सुमो गाडीलाई शंका लागेर रोकेको थियो।
गाडी चालक, पर्सा जिल्ला बहुदरमाई नगरपालिका–९ निवासी २४ वर्षीय मुम्ताज मियालाई शंका लागेपछि प्रहरीले नियमानुसार उनको शारीरिक तथा गाडीको विस्तृत खानतलासी गरेको थियो।
खानतलासीको क्रममा सुमो गाडीको अगाडिको भागमा राखिएको स्पेयर टायरको माथिल्लो तथा भित्री भागमा प्वाल पारी लुकाइ–छिपाइ गरिएको अवस्थामा ONEREX 100 ML का २२५ बोतल लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषध र सुमो गाडी सहित मुम्ताज मियालाई नियन्त्रणमा लिई, लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।