हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१४ स्थित कुखरेनी खोला किनारदेखि औद्योगिक क्षेत्र उत्तरपानीसम्मको सडक स्तरीकरण कार्यको शिलान्यास शुक्रबार सम्पन्न भएको छ।
शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, वडा नं. १४ का अध्यक्ष दीपक खड्का सहित वडा सदस्यहरूको उपस्थिति थियो।
उक्त सडक १ करोड ९१ लाख ४५ हजार ९३१ रुपैयाँको लागतमा निर्माण हुने भएको छ। सडक स्तरीकरणपछि यस क्षेत्रका बासिन्दाहरूलाई आवतजावतमा सहज हुने विश्वास लिइएको छ, साथै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

नगर प्रमुख लामाले शिलान्यास कार्यक्रममा बोल्दै विकासका आधारभूत संरचनाहरू निर्माण गर्नु उपमहानगरको प्राथमिकता भएको उल्लेख गर्दै भनिन्, “स्थानीय जनताको मागअनुसार हामीले प्राथमिकतामा राखेर यो सडक स्तरीकरणको काम अघि बढाएका हौं। गुणस्तरीय निर्माण हाम्रो प्रमुख ध्यान हुनेछ।”
त्यस्तै, उपप्रमुख राजेश बानियाँले सडकले औद्योगिक क्षेत्रसँगको पहुँच सहज बनाएर स्थानीय व्यवसाय र उद्योगहरुलाई पनि मद्दत पुग्ने बताए।

वडाध्यक्ष दीपक खड्काले लामो समयदेखि माग हुँदै आएको सडक स्तरीकरण कार्य सुरु हुन लागेकोमा स्थानीयवासीको तर्फबाट आभार व्यक्त गर्दै परियोजनालाई सफलतापूर्वक सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे। सडक निर्माण कार्य छिट्टै सुरु गरिने जनाइएको छ, र निर्माण सम्पन्न भएपछि यसले हेटौँडा–१४ को भौतिक पूर्वाधार विकासमा ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।































