मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शिक्षा नै विकासको मेरुदण्ड भएको बताउँदै शिक्षा बिना समृद्धि सम्भव नहुने धारणा राख्नुभएको छ।
हेटौंडा-१० स्थित तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयको ४३औं अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले गलत शिक्षाले देश र समाजको विकासमा बाधा पुग्ने उल्लेख गर्नुभयो। साथै, निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै सामुदायिक विद्यालयहरूलाई तीव्र प्रतिस्पर्धामा ल्याएको धारणा राख्नुभयो।
मुख्यमन्त्री लामाले विद्यालय शिक्षा प्रदेश सरकारको एकल अधिकारभित्र नपर्ने हुँदा इच्छाअनुसार काम गर्न कठिनाइ भएको बताउनुभयो। संघ र स्थानीय सरकारको तुलनामा प्रदेश सरकारले कम संरचनात्मक सुविधा पाएकोप्रति गुनासो व्यक्त गर्दै प्रदेश सरकारले आफ्नो अधिकारभित्र रहेर विश्वविद्यालय स्थापनाको अवधारणा अघि सारेको जानकारी दिनुभयो। साथै, संघ र स्थानीय सरकारको संरचनालाई समन्वय गरी काम गर्नुपर्दा थप चुनौती भोग्नु परेको उल्लेख गर्नुभयो।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। विद्यालयका प्रिन्सिपल रघुनाथ खरालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा ४ नं. वडा अध्यक्ष नवीन सिग्देल, १० नं. वडा अध्यक्ष फुर्वा दोर्जे लामा, प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो।