मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रस्थित एन्टारटिक बिस्कुट प्रा.लि. द्वारा ९७ श्रमिकलाई निष्कासन गरेपछि उद्योगमा चरणबद्ध आन्दोलन सुरु भएको छ।
श्रम ऐनअनुसार परिक्षण अवधि पूरा गरेका श्रमिकलाई स्थायी नियुक्ति गर्ने सहमति उद्योगले गरेको थियो। तर, आफ्नै लिखित प्रतिबद्धता उल्लंघन गर्दै श्रमिकलाई निष्कासन गरेपछि उद्योगमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
फागुन १ गतेदेखि जारी आन्दोलनलाई श्रमिकहरूले थप चर्काउने चेतावनी दिएका छन्। व्यवस्थापन पक्षले गैरकानुनी तरिकाले अनुचित श्रम अभ्यास गरेको आरोप लगाइएको छ। पीडित श्रमिकहरूका अनुसार, उद्योग व्यवस्थापनले गलत मनसायका साथ आफूहरूलाई हटाएको छ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले आन्दोलनको नेतृत्व गरिरहेका मजदुर नेताहरूलाई अनावश्यक आरोप लगाई निष्कासन गर्नु श्रम ऐन विपरीतको कार्य भएको बताउँदै उद्योग प्रशासनलाई गलत अभ्यास सच्याउन आग्रह गरेको छ।
जिफन्टका बागमती प्रदेश अध्यक्ष रामहरि नेपालका अनुसार, पाँच वर्ष सेवा गरिसकेका श्रमिकलाई गैरकानुनी सम्झौता गरी परीक्षण अवधिमा निष्कासन गर्ने योजना बनाएको भन्दै विरोध जनाइएको छ।
यता, उद्योगका मानव संसाधन प्रबन्धक विवश अर्यालले भने कर्मचारीहरूलाई निष्कासन नगरेको दाबी गरेका छन्। उनले आन्दोलित श्रमिकहरूलाई करार अवधि नवीकरण गर्ने प्रक्रियामा आउन आग्रह गरिएको बताए।
श्रमिकहरूको आन्दोलनमा नेपाल जिल्ला समन्वय समिति मकवानपुर, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, क्यापेक नेपाल लगायतका संघ-संगठनहरूले ऐक्यबद्धता जनाएका छन्। हाल उद्योगमा ४ सयभन्दा बढी कर्मचारी कार्यरत छन्।





























