मकवानपुर । दोश्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता यही पुस १० गतेबाट हेटौंडामा हुने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बागमती प्रदेश फुटबल संघले प्रतियोगिताबारे जानकारी गराएको हो ।
हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगितामा प्रदेशका ११ जिल्लाका लिग च्याम्पियनहरुले सहभागिता जनाउने संघका कार्यबाहक अध्यक्ष राजीव बस्नेतले जानकारी दिए । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार नै प्रतियोगिता सञ्चालन हुन लागेको उनले बताए ।
लिग कम नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउने छन् । प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद २ लाख र एक लाख सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव दिपक लामाले ट्राइसिट समेत सार्वजनिक गरेका थिए । गत वर्षको पहिलो संस्करणको उपाधि धादिङले जितेको थियो ।































