मकवानपुर । नेपाल पूर्व प्रहरी संगठनको ३३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति मकवानपुरको आयोजनामा हेटौंडा ११ सिमल्टारमा भएको सभामा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) कृष्ण हरि शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
संगठनका जिल्ला अध्यक्ष सूर्य बहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी डीआईजी शर्माले पूर्व प्रहरीहरुले अब बेरोजगार हुन नपरोस् भनेर प्रदेश प्रहरी कार्यालयले विभिन्न किसिमको रोजगार मुलक तालिम दिई आर्थिक उपार्जनमा सहयोग गर्ने बताए । शर्माका प्रतिबद्धतालाइ जनाउँदै प्रदेश प्रहरी प्रमुखले पूर्व प्रहरीहरुलाई ब्यारेकमै राखेर खाने, बस्ने ब्यवस्था सहित अटो, मयुरी लगायतका आयमुलक तालिम दिने र तालिम पश्चात् अटो, मयुरी खरिदकोलागि संवन्धित वाणिज्य बैकहरुसँग पहल गरिदिने प्रतिबद्धता व्यक्त भएको डीआईजीबाट संगठनका जिल्ला उपाध्यक्ष जनकमान डङ्गोलले जानकारी दिए ।
मकवानपुर जिल्लाका प्रहरी प्रमुख श्यामु अर्याल पूर्व प्रहरी संगठनका केन्द्रिय महासचिव रोवर केसी, बागमती प्रदेश अध्यक्ष रितबहादुर खाती क्षेत्री लगायतको आतिथ्यतामा भएको सभामा दिवङ्गत भएका पूर्व प्रहरीका परिवार, आफ्नो कार्यकालमा उत्कृष्ट योगदान दिने पूर्व प्रहरीहरु लगायतलाई संगठनले सम्मान गरेको थियो ।
देशैभरी ५२ हजार पूर्व प्रहरी छन् । मकवानपुर जिल्लामा भने आजिवन सदस्यता लिएका ३५० जना, संगठनमा आउन बाँकी २५० गरी ६०० जना पूर्व प्रहरी रहेको जिल्ला अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा जिल्ला अध्यक्ष श्रेष्ठ, सचीव कृष्ण बहादुर खड्का, कोषाध्यक्ष जय बहादुर प्रधानले प्रगति तथा कोषको प्रतिवेदन पेस गरेका थिए ।