थाउँलु वर्ल्डकपका लागि नेपाली उसु खेलाडीको बिदाई

मकवानपुर । जापानको टोकियोस्थित योकोहा शहरमा अक्टोवर २३ देखि २८ सम्म आयोजना हुने तेस्रो थाउँलु वर्ल्डकप २०२४ मा सहभागी हुने नेपाली खेलाडी टोलीको बिदाई गरिएको छ ।

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जितका लागि शुभकामना दिँदै उसु खेलाडीहरुलाई बिदाई गरेका हुन् । सो अवसरमा मन्त्री महर्जनले बागमती प्रदेश यूवा तथा खेलकुद मंत्रालय र खेलकुद विकास परिषद् उसु खेलको समग्र विकासका लागि साथ सहयोग गर्न सदैव तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री महर्जनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेलाडीहरुलाई सहभागी गराएर खेलमार्फत् राष्ट्रको नाम विश्वसामु चिनाउन र पदकसमेत जित्न सफल बनाउन उसु महासंघको महत्वपूर्ण योगदान रहेको भन्दै महासंघलाई धन्यवाद दिए ।

वर्ल्डकपमा खेलाडीहरु दीपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिब तामाङ सहभागी हुनेछन् । नेपाली उसु टोलीको नेतृत्व महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले गर्नेछन् भने अन्तर्राष्ट्रिय कोच निकेश श्रेष्ठले टिम कोचको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

वर्ल्डकपमा सहभागी हुन जान लागेका खेलाडीहरु २०२४ अप्रिलमा चिनमा भएको अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगिताबाट छनौट भएका हुन् । साथै यसियाली राष्ट्रहरुमध्ये यस प्रतियोगितामा नेपालले मात्रै सहभागी हुने अवसर पाएको पनि महासंघका महासचिव लामाले बताए ।

काडमाडौँमा आयोजित बिदाई कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार सेरचन, राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट, उपनिर्देशक एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठलगायतले खेलाडिहरुलाई जितको शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.