मकवानपुर । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको सिमलटार खेल मैदानमा पहिलोपटक मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता २०८१ को शुभारम्भ गरिएको छ । शुभारम्भ खेलको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले गर्नुभएको हो ।
आज भएको पहिलो खेलमा न्यु डाँफेले महाविर क्लबलाई ० को विरुद्ध ७ गोलले पराजित गरेको छ । खेल शुरु भएको २० मिनेटमा डाँफेका जर्सी नम्बर ७ का खेलाडी अभिषेक बल तामाङ्गले १ गोल गरेका थिए भने ४५ मिनेट पछि डाँफेकै जर्सी नम्बर २१ का निसल थापाले अर्को १ गोल थपे । यसैगरी क्रमश रितेश श्रेष्ठले १ , बोदकुमार वाइबाले १ र शुसान्त तामाङले २ गोल गरेका थिए । न्यु डाँफे क्लबका जर्सी नम्बर १० का खेलाडी शुसान्त तामाङ धेरै गोल गरी म्यान अफ दि म्याच घोषित भए ।
खेलमैदान निर्माण भएपछि वडा कप मात्र भएको चौरमा करिब ४५ वटा जिल्ला लिग गेम हुने मकवानपुर फुटबल संघका जिल्ला उपाध्यक्ष तथा फुटबल प्रतियोगिताका संयोजक युवराज लामाले जानकारी दिए । हेटौंडा ६ गौरिटार रंगशाला र सिमलटार खेल मैदानमा गरि ९० वटा गेम हुने फुटबल संघले जनाएको छ । १५ गते शनिबार सिमलटार खेलमैदानमा दिनको १ बजे सक्षम युवा क्लब र हेटौंडा भेट्ट्रान्स बिच र दिनको ४ बजे आरआर एफसी र एफसी ईन्टरनेट क्लबबिच प्रतिस्पर्धा हुनेछ । यसैगरी गौरीटार रंगशालामा शनिबारै दिनको १ बजे परेली युवा क्लब र बिजय युथ क्लबबिच र ४ बजे गोर्खा ब्वाइज क्लब र एफसी ईन्टरनेट क्लबबिच प्रतिस्पर्धा हुने संघका महासचिव छवि सुवेदीले जानकारी दिए ।
फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाको सभाध्यक्षतामा भएको फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपमेयर राजेश बानियाँ, हेटौंडा ११ की वडाअध्यक्ष जुना दाहाल, १४ नम्बरका वडाअध्यक्ष दिपक खड्का, ६ का वडाध्यक्ष बिष्णु बहादुर दाहाल, १७ का वडाध्यक्ष उद्धव सत्त्याल, वडासदस्य विकास नेपाल, गोपिनी सापकोटा, गीता सुनार, सिमलटार टोल विकास संस्थाका अध्यक्ष सुर्यमान लामा, सिमलटार युवा क्लबका अध्यक्ष प्रभाकर पुडासैनी लगायतको आतिथ्यता रहेको थियो ।