हेटौँडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा हेटौँडामा दोस्रो वृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव आगामी माघ २८ गतेदेखि फागुन १२ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको हो। हेटौँडा–१० स्थित टीसीएन चौरमा आयोजना हुने महोत्सवमा ६ विधाका खेलकुद प्रतियोगिता समावेश गरिने आयोजकले जनाएको छ।
समितिका अध्यक्ष राजकुमार मोक्तानका अनुसार प्रतियोगिताअन्तर्गत राष्ट्रिय महिला भलिबल, जिल्लास्तरीय पुरुष भलिबल, तेक्वान्दो, जिल्लास्तरीय ब्याडमिन्टन, जिल्लास्तरीय कराँते तथा २२ किलोमिटर दौड प्रतियोगिता सञ्चालन हुनेछन्।
राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजेताले ४ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ तथा सान्त्वना टिमले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। जिल्लास्तरीय पुरुष भलिबलतर्फ प्रथम हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्नेले १०/१० हजार रुपैयाँ पाउनेछन्।
त्यसैगरी, जिल्लास्तरीय ब्याडमिन्टनमा प्रथम र द्वितीय हुनेले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्नेले ५/५ हजार रुपैयाँ पाउनेछन्। जिल्लास्तरीय कराँते तथा २२ किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
महोत्सवको अवसरमा खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान दिएका १० जना खेलाडीलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिने पनि अध्यक्ष मोक्तानले जानकारी दिनुभयो।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति तथा जनजातीय समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ। साथै कृषि, पर्यटन, हस्तकला प्रदर्शनी र बाल उद्यान समेत समावेश गरिने आयोजकले जनाएको छ।
हेटौँडाको २५ गज सडक विस्तारबाट प्रभावित व्यवसायीहरूलाई ५० प्रतिशत छुटमा स्टल उपलब्ध गराइने बताइएको छ।
महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने कार्यक्रम रहेको छ भने समापन समारोह हेटौँडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ।



































































