हिमालयन राईडर्स सोसाइटी पाँचौँ वर्षमा प्रवेश, जनचेतनामूलक कार्यक्रम सम्पन्न

हेटौँडा । विश्वभर तीव्र गतिमा बढ्दो वायु प्रदूषण र त्यसका कारण मानव स्वास्थ्यमा देखिँदै गएको असरलाई मध्यनजर गर्दै स्वास्थ्य, पर्यावरण र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित स्थापना भएको हिमालयन राईडर्स सोसाइटी पाँचौँ वर्षमा प्रवेश गरेको छ।

“स्वास्थ्य, पर्यावरण र पर्यटनका निम्ति साइक्लिङ्ग” भन्ने मूल नारासहित २०७८ साल फागुन ९ गते गैरनाफामूलक सामाजिक संस्थाको रूपमा स्थापना भएको सोसाइटीले साइक्लिङ्गमार्फत जनचेतना फैलाउँदै आएको छ। संस्थाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले मेचीदेखि महाकालीसम्म विभिन्न क्षेत्रमा साइक्ल यात्रा सम्पन्न गरिसकेको जनाएको छ।

स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा आज बनशखण्डी मन्दिर परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सोसाइटीका अध्यक्ष राजु थापा मगरको सभाध्यक्षता तथा बनशखण्डी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रमका क्रममा सबैभन्दा कम उमेरका सदस्य, जी.एस. निकेतन कक्षा २ मा अध्ययनरत ७ वर्षीय अबिरल आचार्य तथा सबैभन्दा ज्येष्ठ सदस्य ७३ वर्षीय मदन लाल मानन्धरलाई सम्मान गरिएको थियो। साथै, ३४ जना आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको र २० जना साधारण सदस्यलाई ब्याज प्रदान गरिएको संस्थाले जनाएको छ।

सो अवसरमा सहयोगी संघ–संस्था तथा विभिन्न व्यक्तित्वप्रति आभार व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो। संस्थाले आगामी दिनमा पनि साइक्लिङ्गमार्फत स्वस्थ जीवनशैली, स्वच्छ वातावरण र दिगो पर्यटन प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.