मकवानपुर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मकवानपुरको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारसभामा संस्थाका अध्यक्ष रबिन्द्र थिङको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घलानले लोक र मौलिकताको संरक्षणमा जोड दिए। उनले नेपालको सांस्कृतिक धरोहरको रूपमा रहेको लोक तथा दोहोरी गीतको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहेको बताए। कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्द्र बहादुर बजगाईले स्वागत मन्तव्य दिएका थिए भने सचिव काजीमान गोले (अमर) ले संगठित प्रतिवेदन प्रस्तुत गरे। त्यस्तै अध्यक्ष रविन्द्र थिङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाका संस्थापक ऋषिलाल श्रेष्ठले लुकेको कला र गलाको संरक्षण गर्न आवश्यक रहेको बताउँदै हेटौंडाको गौरवशाली इतिहास जोगाउन आग्रह गरे। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशका कोषाध्यक्ष क्षेत्र बहादुर थिङ अमरले लोक गीतको संरक्षण गर्नु आजको आवश्यकता रहेको भन्दै शुभकामना व्यक्त गरे। जिल्ला कार्यसमिति सल्लाहकार तथा संस्थापक सहसचिव नारायण रेग्मीले सबैको उद्देश्य एउटै भए पनि विधा फरक हुने बताउँदै सबैले जगेर्ना गर्नुपर्ने आग्रह गरे।
राष्ट्रिय संगीतकर्मी संघ मकवानपुरका अध्यक्ष अचित लोप्चनले आजकाल केही विकृतिहरू देखा परेको स्वीकार गर्दै दोहोरीलाई फोहोरी नबनाउन आग्रह गरे। मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष धिरेन लामाले कला र संस्कृति जोगाउनु सबैको दायित्व रहेको बताए। उनले विकृतिहरूलाई नियन्त्रण गर्दै लोक तथा दोहोरी गीतको मूल भावना र गरिमा कायम राख्नुपर्ने र समाजमा सकारात्मक सन्देश फैलाउने खालका गीतहरूको निर्माण र प्रसारणमा जोड दिनुपर्ने बताए ।
साधारणसभाले लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुरको कानुनी सल्लाहकारमा अधिवक्ता रामशरण लामिछानेलाई मनोनित गरेको छ। साथै, विभिन्न खाली रहेका पदहरूमा समेत नयाँ सदस्यहरू मनोनीत गरिएको छ।


































































