मकवानपुर । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित राप्ती रिभर साइड पार्कमा बनेको फुल रोप्ने सिमेन्टको गमलामा सिमलटारका महिलाहरुले फुल रोपेको देख्दा वृक्षारोपण कार्यक्रम हो कि जस्तो देखिन्थ्यो । तर त्यस्तो कार्यक्रम केही नभएर आफ्नो ठाउँ सुन्दर देखियोस् भन्ने उदेश्यले फुल रोपेको विपन्न सहकारी संस्थाकी पुर्व अध्यक्ष समेत रहेकी वृद्धा दुदुमाया थापाले बताइन् ।
स्थानीय युवाहरुको सक्रियता, हेटौंडा उपमहानगरपालिकाको आर्थिक लगानीमा निर्मित पार्क अति रमणीय बनाइएको छ । राप्ती खोलाको सुन्दर दृश्य अवलोकन र खोलाको चिसो हावाको मजा लिन बस्ने ठाउँ, सेल्फी तस्बिर खिच्ने ठाँउ, पार्क वरिपरि सिमेन्टका कुर्सी राखिएको छ ।
राति झिलिमिली बल्ने बत्तीले पार्कको अझ रौनकता बढाएको पार्कका अध्यक्ष इन्द्रमान लामाले बताए । पार्क निर्माण हुन अघि अत्यन्तै फोहोर र लागू औषध दुव्र्यसनीहरुको अखडाको रुपमा चर्चित ठाउँ पार्क निर्माणले वडाको सुन्दरता बढाउनुका साथै आन्तरिक तथा बाह्य पर्याटक समेत पार्कको मनोरम दृश्य हेर्न आउने गरेको रिभर साइड निर्माण समिति सदस्य सुन्दरलाल श्रेष्ठ ले बताए ।