हेटौँडा । तोकिएको क्षमताभन्दा बढी ढुङ्गा बोकेर सञ्चालनमा रहेका टिप्परमाथि मकवानपुर प्रशासनले निगरानी बढाएको छ। अनुगमनका क्रममा मापदण्ड उल्लंघन गरेको पाइएपछि प्रशासनले सवारीधनीलाई सचेत गराउँदै नियम पालना गर्न निर्देशन दिएको हो।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा गरिएको अनुगमनमा राक्सिराङ क्षेत्रबाट ढुङ्गा ढुवानी गरिरहेका केही टिप्परले अत्यधिक लोड बोकेको भेटिएको थियो। त्यसक्रममा आठ वटा टिप्परलाई नियन्त्रणमा लिई सडकमै अतिरिक्त ढुङ्गा झार्न लगाइएको प्रशासनले जनाएको छ। त्यसपछि मात्र ती सवारीलाई नियमानुसार ढुवानी गर्न अनुमति दिइएको थियो।
प्रशासनका अनुसार तोकिएको मापदण्डभन्दा बढी लोड बोक्नु गैरकानुनी कार्य हो। यसलाई निरन्तरता दिए कडा कारबाही गरिने चेतावनी दिइएको छ। साथै, ढुवानीका क्रममा ढुङ्गालाई अनिवार्य रूपमा त्रिपालले छोप्न पनि सवारीधनीलाई निर्देशन दिइएको छ।
अत्यधिक भारका कारण सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न प्रशासनले कडाइ थालेको स्पष्ट पारेको छ।



































































