राक्सिराङको दुर्गम घोरकोटेमा स्वास्थ्य सेवा विस्तार

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ अन्तर्गत पर्ने दुर्गम घोरकोटे क्षेत्रमा अब आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुने भएको छ। चेपाङ समुदायको बसोबास रहेको यस विकट क्षेत्रमा ‘घोरकोटे सामुदायिक स्वास्थ्य इकाई’ स्थापना गरी सञ्चालनमा ल्याइएको हो।

स्थानीय बासिन्दाले सामान्य उपचारका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता हटाउने उद्देश्यले यो पहल गरिएको हो। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी तथा वडा अध्यक्ष संजय कोइरालालगायतको सहभागिता रहेको थियो।

स्वास्थ्य इकाई सञ्चालनका लागि बागमती प्रदेश सरकार र गाउँपालिकाबाट समान रूपमा १०–१० लाख रुपैयाँ बजेट छुट्याइएको छ। उक्त रकममध्ये १२ लाख रुपैयाँ लागतमा स्थायी भवन निर्माणको प्रक्रिया अघि बढाइएको छ भने बाँकी ८ लाख रुपैयाँ व्यवस्थापन र सञ्चालनमा खर्च गरिने जनाइएको छ।

यसअघि स्थानीयवासीले आफ्नै वडाको स्वास्थ्य चौकीसम्म पुग्न करिब दुई घण्टा र वडा नम्बर ९ को स्वास्थ्य केन्द्रसम्म पुग्न चार घण्टासम्म पैदल यात्रा गर्नुपर्ने अवस्था थियो। अहिले गाउँमै सेवा उपलब्ध भएपछि स्थानीयमा उत्साह थपिएको छ।

नयाँ इकाईबाट बिरामी जाँच, नियमित खोप, औषधि वितरणजस्ता आधारभूत स्वास्थ्य सेवा प्रदान गरिनेछ। प्रारम्भिक चरणमा एक जना अहेब र एक जना सहयोगी कर्मचारी खटाइएको गाउँपालिकाले जनाएको छ।

हालका लागि इकाई भाडाको भवनबाट सञ्चालनमा आएको भए पनि चाँडै आफ्नै भवनबाट सेवा दिने तयारी भइरहेको छ। उद्घाटनकै दिन ९२ वर्षीय धनपति चेपाङले पहिलो पटक स्वास्थ्य संस्थाबाट सेवा लिएको दृश्यले कार्यक्रमलाई भावुक बनाएको थियो। साथै, कार्यक्रममा सहभागी अधिकारीहरूले समेत स्वास्थ्य परीक्षण गराएका थिए।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.