हेटौंडा / हेटौंडा–११ मा समुदायमा आधारित रोग निगरानीसम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
समुदायमा अनपेक्षित रूपमा देखापर्ने विभिन्न प्रकारका सरुवा तथा नसर्ने रोगहरू के–कस्ता हुन्छन्, तिनका समाधानका उपाय के हुन्, र यस्ता समस्याहरूको समाधान कुन संस्थाले गर्छ भन्ने विषयमा समुदायलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नवलपुर आधारभूत स्वास्थ्य केन्द्रकी प्रमुख मीना कुमारीले जानकारी दिइन्।
हेटौंडा उपमहानगरपालिका तथा नवलपुर आधारभूत स्वास्थ्य केन्द्र, हेटौंडा–११, मकवानपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्रकी मीना कुमारी र PHRD की प्रतिनिधि नम्रता सिलवालले सहजीकरण गरेका थिए।
कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्रअ, टोल विकास संस्थाका अध्यक्ष, स्वास्थ्य संस्थाका व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, मेलमिलापकर्तालगायतको उपस्थिति रहेको थियो।


































