राक्सिराङमा घुम्ती शिविरबाट घरदैलोमै सेवा

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले “सेवा पाउने सबैको अधिकार” भन्ने मूल भावनालाई व्यवहारमा उतार्दै सरकारी सेवाहरूलाई गाउँ–गाउँसम्म पुर्‍याउन सुरु गरेको छ। दुर्गम भेगका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमार्फत स्थानीयले आफ्नै ठाउँमा सहज रूपमा सेवा लिन थालेका छन्।

चैत्र ११ गतेदेखि सुरु भएको यो शिविर चैत्र २० गतेसम्म पालिकाका विभिन्न चार स्थानमा सञ्चालन हुने कार्यक्रम छ। शिविरमार्फत नागरिकता वितरणदेखि राष्ट्रिय परिचयपत्र, अपाङ्गता परिचयपत्र, स्वास्थ्य परीक्षण, पशु उपचार, कृषि सेवा, बीउ तथा औषधि वितरण, कृषि औजार हस्तान्तरण, सुत्केरीका लागि पोषण सामग्री र बेरोजगार सूचीकरणजस्ता विविध सेवा एकै ठाउँबाट प्रदान गरिँदै आएका छन्।

चैत्र १६ गते वडा नं. ९ कान्द्राङमा आयोजित शिविरमा प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका प्रतिनिधिसहितको टोलीले नागरिकता तथा राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो। उक्त कार्यक्रममा ३० जनालाई नागरिकता प्रमाणपत्र र एक हजारभन्दा बढीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइएको थियो।

भौगोलिक विकटता र आर्थिक अभावका कारण नागरिकता बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यता भोग्दै आएका चेपाङ समुदायका लागि यो शिविर विशेष राहत बनेको छ। हेटौँडा पुग्न दुई–तीन दिन लाग्ने कठिनाइ झेल्दै आएका स्थानीयले अब आफ्नै गाउँमा सेवा पाएपछि राज्य नजिकिएको अनुभूति गरेका छन्।

शिविरसम्म आउन नसक्ने नागरिकलाई लक्षित गर्दै घरघरमै पुगेर सेवा दिने व्यवस्था पनि गरिएको छ। वडा नं. ४ की ५० वर्षीया सुन्तली परियारले घरमै नागरिकता प्राप्त गरेपछि भावुक हुँदै खुसी व्यक्त गरिन्। श्रीमान् गुमाएपछि एकल जीवन बिताउँदै आएकी उनलाई नागरिकता अभावका कारण सामाजिक सुरक्षा भत्ता पाउन समस्या भइरहेको थियो। प्रशासनको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेपछि उनको समस्या समाधान भएको छ।

यसअघि विवरण संकलन गरिसकेका तर कार्ड लिन टाढा जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै पहिलोपटक गाउँमै राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै नागरिकको मुहारमा खुसी ल्याउन कर्मचारीहरू सक्रिय हुनुपर्नेमा जोड दिए।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार देशकै उच्च गरिबी दर भएका क्षेत्रमध्ये पर्ने राक्सिराङमा अधिकांश नागरिक पालिकासम्म सेवा लिन आउन नसक्ने भएकाले स्थानीय सरकारले नै गाउँसम्म पुग्ने नीति लिएको हो। साथै, सेवा प्रवाहसँगै विकास योजना निर्माणमा पनि जनताको सहभागिता बढाउने प्रयास भइरहेको उनले बताए।

शिविरअन्तर्गत ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणका साथै सम्मानस्वरूप पौष्टिक आहार, झुल र छाता वितरण गरिएको छ। पालिकाले सार्वजनिक गरेको तालिका अनुसार चैत्र १८ गते वडा नं. ८ पाम्बुङ र चैत्र २० गते वडा नं. ७ स्थित श्री आधारभूत विद्यालयमा शिविर सञ्चालन हुने कार्यक्रम छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.