हेटौंडा । छिमेकी देश भारतको पश्चिम बंगालस्थित कालिम्पोङ जिल्लाको मुनसोङमा जारी ८० औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले सानदार जित निकालेको छ।
मुनसोङ स्पोटर्स् एसोसिएसन क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत शुक्रबारको राउन्ड अफ ३२ को पहिलो खेलमा हेटौंडाले घरेलु टोली सिक्किमको माम्रिङ ब्वाइज क्लबलाई ८–१ को भारी गोलान्तरले पराजित गरेको हो। यस फराकिलो जितसँगै हेटौंडा प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने अब अर्को चरणका लागि हाइल्यान्ड वारियर टिमसँग प्रतिस्पर्धा गर्नेछ।
शुरुदेखि नै आक्रामक शैली प्रस्तुत गरेको हेटौंडासामू माम्रिङ ब्वाइज टिक्न सकेन। डिफेन्सिभ रणनीति अपनाए पनि हेटौंडाको लगातारको आक्रमणलाई रोक्न असफल हुँदा माम्रिङ ब्वाइज खेलभर सान्त्वना गोलमै सीमित बन्न पुग्यो र प्रतियोगिताबाट बाहिरियो।
हेटौंडाका लागि सन्तोष गोङ्बाले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसलगत्तै माम्रिङ ब्वाइजले एक गोल फर्काए पनि हेटौंडाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन जारी राखे। हेटौंडाका अंकित आले मगरले उत्कृष्ट खेल प्रदर्शन गर्दै चार गोलसहित ह्याट्रिक पूरा गरे। त्यसैगरी, टोलीका लागि दिलन लिम्बुले एक र पवन पाख्रिनले दुई गोल थपे।
यस प्रतियोगिताको उपाधि जिम्ने टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। यसबाहेक विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। आयोजक क्लबले यस वर्षदेखि पुरस्कार राशिको रकम समेत वृद्धि गरेको छ।
जुलाई २६ तारिखबाट सुरु भएको यस प्रतियोगिताको फाइनल खेल आगामी अगस्ट १५ अर्थात् इन्डिपेन्डेन्स डे को दिन हुनेछ।



























