सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकाले बालविवाह अन्त्यका लागि रणनीतिक योजना–२०८३ तयार पारेको छ। गाउँपालिकालाई आगामी २०८४ सालसम्ममा बालविवाह मुक्त क्षेत्र बनाउने दृढ संकल्पसहित यो योजना सार्वजनिक गरिएको हो।
सोही कार्यक्रममार्फत गाउँपालिकाले ‘एकीकृत पोषण नीति–२०८३’ को कार्यान्वयनसँगै पोषणमैत्री स्थानीय शासनको समेत घोषणा गर्ने लक्ष्य राखेको छ।
यस रणनीतिक योजना निर्माणका लागि जनजाति विकास कार्यक्रम सिन्धुली र प्लान इन्टरनेसनलले सहयोगी संस्थाको भूमिका निर्वाह गरेका छन्। साथै, प्रो गाइडेन्स नेपाल, हेटौँडाले प्राविधिक सहयोग उपलब्ध गराएको छ। उक्त कार्यक्रमको सहजीकरण सुशीलराज गिरी, रामप्रसाद दाहाल र पुरुषोत्तम अर्यालले गर्नुभएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष, विभिन्न वडाका वडाध्यक्षहरू, वडा सदस्यहरू, पालिकाका विषयगत शाखाका प्रमुखहरू तथा बाल समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै, जनजाति समाज विकास कार्यक्रम सिन्धुलीका अध्यक्ष प्रदीप लुङ्गेली मगर र सोही सस्थाकी फिल्ड सुपरभाइजर भवानी बस्नेतको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रो गाइडेन्स नेपाल, हेटौँडाको कार्यक्षेत्रबारे समेत चर्चा गरिएको थियो। प्रो गाइडेन्स नेपालले स्थानीय तथा प्रदेश सरकारलाई जनचेतनामूलक तालिमको सहजीकरण गर्नुका साथै बालबालिका, महिला र युवाहरूको विषयमा अनुसन्धान, नीति तथा रणनीति निर्माणमा निरन्तर सहयोग पुर्याउँदै आएको छ।
स्थानीय सरकारको यो कदमले तीनपाटनमा बालविवाह जस्तो सामाजिक कुरीति अन्त्य गर्न र बालबालिकाको सुनौलो भविष्य निर्माण गर्न महत्वपूर्ण कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।



































































