हेटौँडा। प्रदेशभर रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र सुरक्षित रगत भण्डारण क्षमता बढाउने उद्देश्यले बागमती प्रदेश सरकारले ११ जिल्लाका नेपाल रेडक्रस सोसाइटीका शाखाहरूलाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ।
स्वास्थ्य आपूर्ति केन्द्र, हेटौँडाको आयोजनामा बिहीबार आयोजित विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र स्वास्थ्यमन्त्री किरण थापा मगरले संयुक्त रूपमा उक्त उपकरणहरू हस्तान्तरण गर्नुभएको हो। बागमती प्रदेशका १३ जिल्लामध्ये रक्तसञ्चार सेवा सञ्चालनमा रहेका सिन्धुपाल्चोक र रसुवाबाहेकका ११ जिल्लालाई रेफ्रिजेरेटर उपलब्ध गराइएको हो।
प्रदेश सरकारले २२० लिटर क्षमताका ती अत्याधुनिक रेफ्रिजेरेटर खरिदका लागि ३१ लाख रुपैयाँ खर्च गरेको छ। प्रति युनिट २ लाख ७५ हजार ५ सय ५५ रुपैयाँका दरले खरिद गरिएका यी उपकरणहरूमा थर्मल इन्सुलेसन, अटोमेटिक डिफ्रोस्ट र डाटा लगरजस्ता आधुनिक प्रविधि जडान गरिएका छन्। प्रत्येक रेफ्रिजेरेटरमा करिब १५० वटा ब्लड ब्याग सुरक्षित रूपमा भण्डारण गर्न सकिन्छ। आर्थिक वर्ष २०८२/८३ मा निःशुल्क रक्तसञ्चार सेवाअन्तर्गत यसका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रगत भण्डारण अत्यन्त संवेदनशील विषय भएकाले प्राविधिक दक्षता र निरन्तर निगरानी आवश्यक रहेको बताउनुभयो। “विद्युत् आपूर्ति अवरुद्ध हुँदा रगत नष्ट भएर बिरामीको जीवन जोखिममा पर्न सक्छ, तसर्थ यसमा उच्च सतर्कता अपनाउनुहोस्,” मुख्यमन्त्री बानियाँले भन्नुभयो। उहाँले ब्लड म्याचिङ प्रक्रियालाई थप व्यवस्थित बनाउन आगामी आर्थिक वर्षको बजेटमा थप व्यवस्था गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
स्वास्थ्यमन्त्री किरण थापा मगरले ब्लड बैंकहरूले प्रदेशका अस्पतालहरूमा सेवा प्रवाहलाई थप व्यवस्थित बनाएको बताउनुभयो। “नागरिकले निःशुल्क रगत प्राप्त गर्न सकून् भन्ने उद्देश्यले मन्त्रालयले ब्लड बैंकको सेवा शुल्कसमेत व्यहोर्दै आएको छ,” मन्त्री थापाले भन्नुभयो। आगामी दिनमा रेडक्रससँग सहकार्य गर्दै स्वास्थ्य सेवाको थप विस्तार गरिने उहाँको भनाइ थियो।
हस्तान्तरण कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक नरेन्द्रकुमार झा, नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका सभापति भोला थापा, ११ जिल्लाका रेडक्रस शाखाका सभापतिहरू लगायतको उपस्थिति थियो।


































































