एमाले परित्याग गर्दै रमिला सापकोटा रास्वपाको बागमती प्रदेश महिला विभागमा

हेटौँडा । लामो समयदेखि महिला सशक्तीकरण, युवा तथा मानव अधिकारको क्षेत्रमा क्रियाशील नेतृ रमिला सापकोटाले नेकपा एमाले परित्याग गर्नुभएको छ। एमाले छाडेको केही समयमै उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरी बागमती प्रदेश महिला विभागको सदस्यको जिम्मेवारीमा चयन हुनुभएको छ।

गैरसरकारी संस्था महासंघ मकवानपुरको अध्यक्षसमेत रहनुभएकी सापकोटाले २५ वर्ष लामो एमालेसँगको यात्रामा पार्टी नेतृत्वले आफ्नो योगदानको कदर नगरेको आरोप लगाउनुभएको छ।

पार्टी परित्यागको निर्णयबारे प्रष्ट पार्दै नेतृ सापकोटाले भन्नुभयो, “मैले पार्टी छाड्न चाहेकी थिइनँ, तर एमालेमा मेरो योगदानको कहिल्यै कदर भएन। वडाध्यक्षको टिकट माग्दा नेतृत्वले डमी उम्मेदवारलाई टिकट दिएर मलाई नै बदनाम गर्ने काम गर्‍यो।”

उहाँले थप गुनासो गर्दै भन्नुभयो, “पार्टी नेतृत्वले मेरो मनसाय बुझ्ने प्रयास नै नगरी म रास्वपामा गइसकेको भनेर गलत हल्ला फैलाइयो। फरक मत राख्दा कारबाही गरिने र अन्यायपूर्ण व्यवहार सहनुपर्ने अवस्था रहेकाले म एमाले छाड्न बाध्य भएकी हुँ।”

एमालेबाट अपमानित महसुस भएपछि आफूले रास्वपाको विधानको अध्ययन गरेको र सबै पक्षसँग राय बुझेको सापकोटाले बताउनुभयो। “एमालेमा फरक मतको कदर भएन, तर रास्वपाको नीति र कार्यशैलीले मलाई आकर्षित गर्‍यो। न्यायपूर्ण वातावरण र अवसरको खोजीमा नै म रास्वपामा आबद्ध भएकी हुँ,” उहाँले भन्नुभयो।

पार्टीका युवा तथा महिला संगठनमा केन्द्रीय सदस्यको भूमिकामा समेत काम गरिसक्नुभएकी सापकोटाको प्रवेशले मकवानपुरको रास्वपा राजनीतिमा महिला नेतृत्व थप सशक्त हुने अपेक्षा गरिएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.