हेटौंडा/ मकवानपुरमा सुर्तीजन्य पदार्थ र मदिरा सेवनबाट उत्पन्न स्वास्थ्य तथा सामाजिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरोकारवालाबीच विशेष छलफल सम्पन्न भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजना र नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा सम्पन्न उक्त पैरवी बैठकमा पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका जिल्ला उपाध्यक्षद्वय धुर्व अधिकारी र भावना रिजाल, साथै महासंघका पूर्व अध्यक्ष राममणि दाहाललगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई विशेष गरी सञ्चार माध्यमको भूमिकासँग जोडेर छलफल गरिएको थियो। सुर्तीजन्य पदार्थ र मदिरा सेवनले समाजमा पारिरहेको दीर्घकालीन स्वास्थ्य तथा सामाजिक असर न्यूनीकरण गर्न पत्रकारितामार्फत सचेतना अभिवृद्धि गर्न सकिने विषयमा सहभागीहरूले जोड दिएका थिए।
जनस्वास्थ्य कार्यालयले प्रस्तुत गरेको तथ्याङ्कअनुसार नेपालमा करिब २८.९ प्रतिशत नागरिकले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने र २०.८ प्रतिशतले मदिरा सेवन गर्ने गरेका छन्। प्रयोग घटाउन स्थानीय तह, स्वास्थ्य क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्य अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
बैठकमा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार सार्वजनिक स्थानमा धूम्रपान निषेध, विद्यालय तथा स्वास्थ्य संस्था वरिपरि १०० मिटर क्षेत्रमा बिक्री वितरणमा प्रतिबन्ध, साथै १८ वर्षमुनिका तथा गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री निषेध गर्ने कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने विषयमा छलफल भएको थियो।
त्यस्तै, फुटकर बिक्री नियन्त्रण, अनुगमन प्रणाली सुदृढीकरण तथा समुदायस्तरमा व्यवहार परिवर्तनमुखी कार्यक्रम विस्तार गर्ने विषयमा पनि छलफल गरिएको थियो।
कार्यक्रमको निष्कर्षमा सहभागीहरूले सुर्ती र मदिरा नियन्त्रणमा केवल नीति होइन, सूचना, सचेतना र निरन्तर निगरानीलाई पनि समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।


































































