हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशन हेटौँडामा जारी छ। हेटौँडा उपमहानगरपालिका-१, चुकिटोलस्थित हिमालय दरबारमा चलिरहेको अधिवेशनले प्रदेशको नयाँ नेतृत्व चयन गर्ने पार्टीका हेटौँडा नगर अध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

अधिवेशनमा भाग लिन रास्वपाका शीर्ष नेताहरू जगदीश खरेल, आशिका तामाङ, तोसिमा कार्की, राजीव खत्री र प्रशान्त उप्रेती लगायत हेटौँडा आइपुग्नुभएको छ। यद्यपि, पार्टी सभापति रवि लामिछाने भने अधिवेशनमा उपस्थित हुनुभएन।

पार्टीका नेताहरूका अनुसार सभापति लामिछाने देशको प्रतिनिधित्व गर्दै कूटनीतिक, राजनीतिक तथा विभिन्न बाह्य शक्तिहरूसँगको छलफलमा व्यस्त रहनुभएकाले हेटौँडा आउन नसक्नुभएको हो।

प्रदेश अधिवेशनको अवसर पारेर रास्वपा हेटौँडा नगर समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। हिमालय दरबारको प्राङ्गणमा आयोजित उक्त रक्तदान कार्यक्रममा ५४ जना महिला तथा पुरुषले रक्तदान गरेको ब्लड बैंक हेटौँडाका टङ्क दाहालले जानकारी दिनुभयो। रास्वपा नगर अध्यक्ष महेन्द्र श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।



































































