हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१२ का बासिन्दाका लागि ठूलो राहतको खबर सार्वजनिक भएको छ। सिँचाइ सुविधाको अभावमा कृषि कार्य गर्न समस्या भोग्दै आएका स्थानीय कृषकहरूलाई लक्षित गर्दै संघीय सरकारले ‘भोर्ले लिफ्ट सिँचाइ आयोजना’ का लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत विशेष अनुदानका रूपमा उक्त रकम विनियोजन गरिएको हो। लामो समयदेखि सिँचाइको समस्या झेल्दै आएका स्थानीय कृषकहरूका लागि यो आयोजना बरदान सावित हुने विश्वास गरिएको छ।
यस महत्त्वपूर्ण योजनाका लागि बजेटको व्यवस्थापन गर्ने संघीय सरकारप्रति हेटौँडा उपमहानगरपालिकाले धन्यवाद व्यक्त गरेको छ। राष्ट्रिय योजना आयोगमार्फत कार्यान्वयन हुने यो आयोजनाले उपमहानगरका कृषकहरूलाई व्यावसायिक कृषिमा लाग्न थप हौसला प्रदान गर्ने उपमहानगरपालिकाको विश्वास छ।
सिँचाइ सुविधा उपलब्ध भएपछि हेटौँडा–१२ का कृषकहरूले कृषि उत्पादनमा वृद्धि गरी आफ्नो आर्थिक स्तर सुधार गर्ने अपेक्षा गरिएको छ।


































































