हेटौंडा । मनै लोभ्याउने हेटौंडा-१२ कल्याणटार । हेटौंडा उपमहानगरपालिका-११ नम्बर वडादेखि १२ नम्बर वडा जोड्ने २१५ मिटर लम्बाइको राप्ती पुल (जसलाई भाइरल पुलको नामले पनि चिन्ने गरिन्छ) कटेपछि आउँछ आल्दमार ।
त्यहाँबाट भोर्ले, हात्तीगौँडा पनि जान सकिन्छ भने पुलको छेउमै पर्छ गुरौबिर्ता, सानो कल्याणटार, सिक्रेनी । नजिकै मगर टोल भनेर चिनिने ठाउँ छ भने त्यही नजिकै पर्छ कल्याणटार, जहाँ वर्षमा ३ बाली धान फल्ने खेतहरू छन् । करिब १६० घरधुरी रहेको कल्याणटारमा प्रायले अरूको खेत कमाएका छन् । ३ बाली धान वर्षमा भित्रिन्छ, स्थानीय तथा त्रिभुवन मा.वि.का व्यवस्थापन समिति सदस्य समेत रहेका बद्री लम्साल बताउँछन् । खानलाई धान हुन्छ, वरिपरि करेसाबारीमा तरकारी फल्छ । कतै कोदोको खेती पनि देख्न सकिन्छ, लम्सालले गाउँबारे जानकारी दिए ।

राप्ती खोलाको छेउ चारैतिर हरियाली देखिन्छ । कसैले व्यावसायिक रूपमा कुखुरा पालेका छन् । कतिले तरकारी खेती, धान, कोदो, मकै खेती गरेको पाइन्छ । पानी प्रशस्त भएकोले उब्जनी राम्रो छ, खानलाई समस्या छैन यहाँको बासिन्दालाई, लम्सालको दाबी छ । बजारदेखि नजिकै भएकोले यातायातको सुविधा राम्रो छ । प्राय सबैतिर बाटो निर्माण भएकोले मयुरी, अटो, म्याजिक घरघरमै पुग्छ । लम्साल भन्छन्, “यहाँको मानिसको मुख्य पेसा खेतीकिसानी हो । धेरै मानिस सरकारी, गैरसहकारी कार्यालयहरूमा जागिरे छन् ।

यहाँका आममानिसहरूका छोरा-छोरीले निजी विद्यालय र सरकारी विद्यालयमा आ-आफ्नो गक्ष अनुसार पढाएका छन् ।” बजारको भीडभाडदेखि फरक एकान्त, शान्त वातावरण अति मनमोहक र रमणीय गाउँ हो कल्याणटार । प्राकृतिक सुन्दरताले सजिएको, स्वच्छ हावापानी, सहरीया जीवनदेखि फरक, लोभ्याउँछ गाउँले जीवनले । यस्तो लाग्छ सबै कुरा छ हामीसँग, हामीले नै चिनेनौँ गाउँलाई ।





































































