मकवानपुर–२ मा राजनीतिक तरंग: आजपा उम्मेदवार कांग्रेसमा, बुद्ध लामालाई साथ

मकवानपुर — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मकवानपुर क्षेत्र नम्बर २ मा राजनीतिक समीकरण फेरिएको छ। आम जनता पार्टी (आजपा) का उम्मेदवार सूर्य राईले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनले कांग्रेस उम्मेदवार बुद्ध लामालाई समर्थन गर्ने औपचारिक घोषणा गरेका हुन्।

मनहरी गाउँपालिका–६ मा आयोजित चुनावी सभामा राईलाई कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ ले पार्टीमा स्वागत गरे। सो अवसरमा राईसहित विभिन्न दल त्यागेका ८६ जना नेता–कार्यकर्ता कांग्रेसमा समाहित भएको जानकारी मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाले दिए।

कांग्रेस प्रवेशपछि सम्बोधन गर्दै राईले देशलाई स्थायित्व र विकासको मार्गमा अघि बढाउन कांग्रेसको नेतृत्व आवश्यक रहेको दाबी गरे। उनले पछिल्लो समय पार्टीले अवलम्बन गरेको नीति र दिशाले मात्रै देशलाई सही मार्गमा लैजान सक्ने विश्वास व्यक्त गरे। “त्यसैले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर बुद्ध लामालाई समर्थन गर्ने निर्णय गरेको हुँ,” राईले भने।

सभामा बोल्दै बानियाँले देशका केही पुराना तथा नयाँ भनिएका दलहरू गम्भीर विवाद र विचलनमा फसेको आरोप लगाए। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू सहकारी ठगी, दोहोरो राहदानी र नागरिकता विवादजस्ता प्रकरणमा मुछिएको भन्दै आलोचना गरे।

“गरीबको पसिना मिसिएको रकम दुरुपयोग गर्नेहरू आज धरौटीमा निस्कनुपर्ने अवस्थामा पुगेका छन्,” उनले भने। रास्वपाले क्युआर कोडमार्फत रकम संकलन गरी बाहिरबाट मान्छे ल्याएर कृत्रिम भीड देखाएको आरोपसमेत उनले लगाए।

बानियाँले केपी शर्मा ओली ले नयाँ पुस्ताको भावना नबुझेको टिप्पणी गरे भने माओवादीमा लामो समयदेखि नेतृत्व परिवर्तन हुन नसकेको दाबी गरे। कांग्रेसले भने गगन थापा जस्ता युवालाई अगाडि सार्दै नीति र नेतृत्व दुवैमा रूपान्तरण गरिरहेको उनको भनाइ थियो।

कांग्रेस मकवानपुर सभापति तथा प्रतिनिधिसभा उम्मेदवार बुद्ध लामाले पार्टी प्रवेशको क्रमले आफ्नो जित सुनिश्चित भएको दाबी गरे। “विभिन्न दलका साथीहरू कांग्रेसमा समाहित हुनु कांग्रेसप्रति जनविश्वास बढेको संकेत हो,” उनले भने। उनका अनुसार कांग्रेस सबै वर्ग र समुदायको साझा शक्ति बन्दै गएको छ।

लामाले आफ्नो मुख्य एजेन्डा सार्वजनिक गर्दै नि:शुल्क तथा सुलभ स्वास्थ्य सेवा, महिला–किसान–युवा लक्षित कार्यक्रम, वैदेशिक रोजगारी व्यवस्थापन, स्वदेशमै सीपमूलक तालिमको विस्तार र लघुवित्त समस्याको समाधानलाई प्राथमिकतामा राखिएको बताए।

निर्वाचन मिति नजिकिँदै गर्दा उनले कार्यकर्तालाई संयमित, अनुशासित र सक्रिय रहन आग्रह गरे। फागुन २१ गतेसम्म प्रत्येक टोल–बस्तीमा घरदैलो अभियानलाई तीव्र बनाउने निर्देशनसमेत उनले दिए। कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलगायत स्थानीय नेताहरूको उपस्थिति थियो।

यसैबीच, हालै रास्वपा परित्याग गरी कांग्रेसमा फर्किएका नेता भरत पराजुलीले कांग्रेसलाई सबै वर्ग र समुदायको साझा पार्टीका रूपमा विकास गर्नुपर्ने धारणा राखे। उनले कांग्रेस केवल धनी वा जमिनदारको पार्टी भन्ने धारणा तोड्नुपर्ने बताए।

“श्रमजीवी, आर्थिक रूपमा कमजोर र पछाडि पारिएका समुदायले पनि नेतृत्व र अपनत्व महसुस गर्नुपर्छ,” उनले भने। पराजुलीले पार्टीको कार्यशैलीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै तल्लो तहका कार्यकर्ताको भावना बुझेर अघि बढ्न नेतृत्वलाई सुझाव दिए।

मकवानपुर–२ मा उम्मेदवार परिवर्तन र दल–प्रवेशको यो घटनाले चुनावी प्रतिस्पर्धामा नयाँ बहस र समीकरणको संकेत गरेको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.