बागमतीमा राष्ट्रिय सभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनले दुवै सिट जित्यो

हेटौंडा । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशबाट हुने निर्वाचनमा एमाले–कांग्रेस गठबन्धनले दुवै सिट हात पारेको छ। महिला र अन्य क्लस्टर दुवैमा गठबन्धनका उम्मेदवार विजयी भएसँगै प्रदेशमा गठबन्धनको प्रभाव बलियो देखिएको छ।

महिला क्लस्टरतर्फ नेपाली कांग्रेसकी गिता देवकोटा निर्वाचित हुनुभएको छ। उहाँले कुल ६ हजार २३९ मत प्राप्त गर्नुभयो। देवकोटाले प्रदेश सभा सदस्यबाट ६० र स्थानीय तहका प्रतिनिधिबाट १६१ मत पाउनुभएको निर्वाचन कार्यालयले जनाएको छ। उहाँका मुख्य प्रतिस्पर्धी नेकपाकी सरोजकुमारी झा २ हजार ५२२ मतमै सीमित रहनुभयो। झाले प्रदेश सभाबाट २५ र स्थानीय तहबाट ६३ मत प्राप्त गर्नुभयो। सोही क्लस्टरमा उम्मेदवार रहेकी नेमकिपाकी कविता महर्जनले १९७ मत ल्याउनुभयो।

निर्वाचन प्रक्रियामा प्रदेश सभा तर्फ रहेका ८९ मतमध्ये ८८ मत सदर भएको थियो भने स्थानीय तहका २२९ मतमध्ये २२६ मत सदर र ३ मत बदर भएको जानकारी निर्वाचन कार्यालयले दिएको छ।

यस्तै, अन्य क्लस्टरतर्फ एमाले–कांग्रेस गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका डा. प्रेम प्रसाद दंगाल पनि विजयी हुनुभएको छ। उहाँले कुल ६ हजार २०५ मत प्राप्त गर्दै राष्ट्रिय सभामा स्थान सुरक्षित गर्नुभयो। दंगालले प्रदेश सभाबाट ५९ र स्थानीय तहबाट १६२ मत पाउनुभयो। उहाँका प्रतिस्पर्धी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मत प्राप्त गर्नुभयो भने नेमकिपाका उम्मेदवार विक्रम ढुकुछु १९७ मतमै रोकिनुभयो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.