विद्यार्थीलाई दिवा खानाका लागि खाद्यान्न सहयोग

हेटौंडा । क्युवानिज इन्टरनेशनल, क्युवानिज क्लब अफ हेटौंडा नेपाल तथा हेटौंडा मोडेल अस्पताल प्रा.लि.को संयुक्त प्रायोजनमा हेटौंडा उपमहानगरपालिका–१९ अन्तर्गतको विकट गाउँ लेकपानीस्थित जीवनज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूलाई दिवा खानाका लागि खाद्यान्न सहयोग गरिएको छ।

विद्यार्थीहरू भोककै कारण पठनपाठनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त संस्थाहरूले विगत दुई वर्षदेखि निरन्तर रूपमा खाद्यान्न, विद्यालय पोशाक तथा विद्यालय ब्याग सहयोग गर्दै आएको क्युवानिज क्लबका प्रतिनिधि कमलचन्द्र सुमनले जानकारी दिए।

उनका अनुसार अति विकट क्षेत्र र विपन्न परिवारका बालबालिका गरिबीका कारण भोकै विद्यालय आउन बाध्य छन्। धेरै विद्यार्थीका अभिभावकहरू जीविकोपार्जनका लागि वैदेशिक रोजगारीमा गएकाले घरमा वृद्ध हजुरबुबा–हजुरआमाको संरक्षणमा बालबालिका हुर्किरहेका छन्। यस्तो अवस्थाका कारण बालबालिकाको लालनपालनमै समस्या देखिएकाले विद्यालयमै दिवा खानाको व्यवस्था गर्न सहयोग गरिएको सुमनले बताए।

सरकारले सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरे पनि प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँको दरले उपलब्ध गराइने रकम पर्याप्त नभएको विद्यालयको भनाइ छ। यही अवस्थालाई मध्यनजर गर्दै संस्थाहरूले माघ ९ गते विद्यालयमा पुगेर ३० बोरा चामल वितरण गरेका हुन्।

खाद्यान्न वितरण कार्यक्रममा क्युवानिज क्लबका प्रतिनिधि कमलचन्द्र सुमन, रत्नदेव बज्राचार्य, गङ्गा पौडेल (पुरुष), हीमा बिडारी तथा विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो।

जीवनज्योति आधारभूत विद्यालयमा कक्षा ३ सम्म पढाइ हुँदै आएको छ। विद्यालयमा ४ जना शिक्षक–शिक्षिकाको दरबन्दी रहेको छ भने हाल ४२ जना विद्यार्थी अध्ययनरत छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.