हेटौंडा । सिविन बाल हेल्पलाइन हेटौंडाले हेटौंडा–११ निवासी बालक इबित सार्कीका अभिभावकलाई जुत्ता सिलाइसम्बन्धी सामग्री सहयोग गरेको छ। सिविन हेटौंडाको सहयोगमा इबितका पिता सन्तबहादुर सार्कीलाई करिब ३० हजार रुपैयाँ बराबरको जुत्ता निर्माण सामग्री प्रदान गरिएको हो।
हेटौंडा–११ स्थित शंकर ज्योति माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीय इबितका पिता सन्तबहादुर सार्की जुत्ता सिलाइसम्बन्धी पेशामा संलग्न छन्। उक्त सामग्री हेटौंडा–११ वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष जुना दाहालको हातबाट वितरण गरिएको सिविन बाल हेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवालीले जानकारी दिए।
अतिविपन्न परिवारका बालबालिकाको अध्ययन निरन्तरता र अभिभावकको आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको सिविन बाल हेल्पलाइनकी सामाजिक परिचालिका पलिना अर्यालले बताइन्।
सामग्री वितरण कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा, पूर्व सचिव जीवन ढुंगेल लगायतको उपस्थिति रहेको थियो।



































































