बागमती प्रदेशस्तरीय मानव अधिकार रक्षक संजाल गठन

हेटौंडा । हेटौंडामा इन्सेकको आयोजनामा बागमती प्रदेशस्तरीय मानव अधिकार रक्षक संजाल गठन गरिएको छ। नवगठित संजालको संयोजकका रूपमा अधिवक्ता दिपेन्द्र ढकाल चयन भएका छन् भने २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईले मानव अधिकारको संरक्षण र संवर्द्धनमा इन्सेकले गर्दै आएको कामलाई संजालमार्फत थप प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए। मानव अधिकारका सवाल चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले आयोगको तर्फबाट निरन्तर सहयोग र सहकार्य रहने आश्वासन दिए।

गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव बुद्धशरण लामाले मानव अधिकार रक्षकहरूले समयानुकूल आफ्नो भूमिका परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले महासंघ बागमती प्रदेशको सभाहल संजालका बैठकका लागि निःशुल्क उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे। गैसस महासंघ बागमती प्रदेशका अध्यक्ष कमलकुमार विश्वकर्माले मानव अधिकार अभियान सुदृढ बनाउन संजालको सक्रियताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आवश्यक समन्वय र सहयोग प्रदान गर्ने बताए।

इन्सेक बागमती कार्यालयका संयोजक शिव खकुरेलले स्वागत मन्तव्य राख्दै विगतमा हासिल उपलब्धीहरूको स्मरण गरेका थिए। उनले मानव अधिकारका सवाल समाधानमा मानव अधिकारकर्मीको भूमिकाबारे प्रकाश पारे। अधिकारकर्मी प्रकाश खतिवडाले आवश्यक परे मानव अधिकारका मुद्दामा सहजिकरण गर्दै बागमती प्रदेशलाई मानव अधिकारमैत्री प्रदेशका रूपमा चिनाउन संजालले उल्लेखनीय भूमिका खेल्नुपर्ने बताए।

कार्यक्रमका सहभागीहरू चार उपसमूहमा विभाजित भई प्रस्तुतीकरण गरेका थिए। त्यसअनुसार महिला, युवा, बालबालिका तथा शिक्षा उपसमिति; वातावरणीय उपसमिति; नागरिक तथा अभिव्यक्ति स्वतन्त्रता उपसमिति; र दलित अधिकार, अहिंसा तथा अविभेद उपसमिति गठन गरिएको छ।

दिपेन्द्र ढकालको संयोजकत्वमा बनेको कार्यसमितिमा नातीबाबु धिताल सह–संयोजक, सरिता दाहाल सचिव र अर्जुन श्रेष्ठ कोषाध्यक्षको भूमिकामा चयन भएका छन्। सदस्यहरूमा सीता मतल, शारदा चौलागाई, विमला गोपाली, अन्जिना गिरी, आशिष बुढाथोकी, रुद्रबहादुर खड्का, विनोद ढकाल, अस्मिता प्रजा, पवित्रा वि.क, कुमारी वाइबा, आस्मा भण्डारी, गोविन्द प्रसाद न्यौपाने, सुमित्रा आचार्य, कवि पौडेल, अविनाश प्रजा, पवन गौतम र सागर गौतम रहेका छन्।

संजालले ६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ, जसमा चन्द्रकान्त चापागाई, प्रकाश खतिवडा, झविन्द्र ज्ञवाली, कमलकुमार विश्वकर्मा, रमिला सापकोटा र रन्जन पौडेल रहेका छन्।

कार्यक्रम सञ्चालन इन्सेक बागमती प्रदेश कार्यालयका सहायक प्रलेख अधिकृतले गरेका थिए। उनले इन्सेकका विगतका उपलब्धी, आगामी तीन वर्षका गतिविधि तथा मानव अधिकार रक्षक संजालको औचित्य र महत्वसम्बन्धी प्रस्तुतीकरण पनि गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.