हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार एक विशेष कार्यक्रममा खेलकुद क्षेत्रका २ खेलाडी र १ प्रशिक्षकलाई सम्मान गरिएको छ। मकवानपुर जिल्ला खेलकुद विकास समिति र मकवानपुर फुटबल संघ (एन्फा) को संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा खेलकुद क्षेत्रका प्रतिभाशाली व्यक्तित्वहरूलाई सम्मानपत्र, दोसल्ला र खादा ओढाएर सम्मान गरिएको हो।

कार्यक्रम हेटौंडा–४ स्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा सम्पन्न भएको थियो। सम्मानित हुनेहरूमा २०२५ मा अजरबैजानको बाकु शहरमा सम्पन्न इन्टरनेशनल बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक र किक बक्सिङमा रजत पदक विजेता हेटौंडा–१८ का सुदर्शन खतिवडा, स्पेनमा उत्कृष्ट अन्तर्राष्ट्रिय कराते प्रशिक्षकका रूपमा स्थापित मनहरी गाउँपालिका–३ का अशोक लामा, र स्पेनस्थित सिडी इन्टरनेशनल क्लबमा आबद्ध फुटबल (जुनियर) खेलाडी आमेथ लामा रुम्बा रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि, बागमती प्रदेशसभा सदस्य तथा प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मुक्तानले सम्मानित व्यक्तिहरूलाई दोसल्ला, खादा र सम्मानपत्र प्रदान गरेकी थिइन्। सो अवसरमा एन्फाका केन्द्रीय सदस्य तथा मकवानपुर एन्फा अध्यक्ष टिकाराम लामाले खेलाडी आमेथ लामा रुम्बालाई फुटबल उपहारस्वरूप प्रदान गरेर सम्मान गरेका थिए।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश खेलकुद विकास समिति बागमतीका सदस्य अमृत लुङ्बा, समितिका पूर्व अध्यक्ष सानु कुमार लामा, जिल्ला फुलकन्ट्याक कराते संघका अध्यक्ष विष्णु श्रेष्ठ, मकवानपुर क्योकुशिन कराते संघ बालकुमारीका अध्यक्ष बुद्धिनाथ न्यौपाने, एन्फाका जिल्ला उपाध्यक्ष युवराज लामालगायतको उपस्थिती रहेको थियो।
कार्यक्रमका वक्ताहरूले मकवानपुरमा जन्मिएका खेलाडी र प्रशिक्षकहरूले अन्तर्राष्ट्रिय स्तरमा देश र जिल्लाको नाम उचाल्न सफल भएको भन्दै उनीहरूको योगदान प्रशंसनीय रहेको टिप्पणी गरेका थिए।



































































