हेटौंडा । अनेम संघ (समाजवादी) जिल्ला कार्यसमिति हेटौंडाको आयोजनामा गरिएको तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।हेटौंडामा भएको कार्यक्रम संघकी जिल्ला अध्यक्ष शुक्रदेवी बलको सभाध्यक्षता तथा अनेम संघ (समाजवादी) की केन्द्रिय अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै संघकी केन्द्रिय अध्यक्ष सिग्देलले पुरानो क्रान्तिकालका गीत “नउठी भएन संसारका दिदीबहिनी हो केछर बाँच्ने आधार कम्मर नकसी । ” भन्दै पुरानो दिनहरुको सम्झना गरिन् । उनले भनिन् , ‘गीत हामीले महिला हकहित, अधिकारका लागि गाएर क्रान्ति गरेका थियौं, त्यसको फलस्वरूप अहिले ३३ प्रतिशत अधिकार महिलाले पाएका छन् , देशको प्रमुख स्थानमा महिलाहरु पुगेर नेतृत्व गरेका छन् । हामी महिलाहरु एकतामा रहेर समाज परिवर्तन गर्न सक्छौं , कुरिती हटाउन सक्छौं ।’ उनले भनिन् , ‘तिजमा खाने, पिउने, रमाइलो गर्ने मात्र होइन देशको चिन्तनमनन् गर्नु आजको आवश्यकता हो ।’

यस्तै तिजको शुभकामना दिँदै नेकपा एकीकृत (समाजवादी) का पोलिटब्युरो सदस्य घनप्रसाद गौतमले महिला एकता आवस्यक रहेको बताउँदै आधा आकाश ढाकेका महिलाहरुले चाहेमा मुलुकको कायापलट हुने बताए । उनले भने , ‘अहिले हाम्रो हजारौं युवाशक्ति विदेसिन बाध्य छन्, दैनिक १९/२० वटा युवाको लाश बाकसमा प्याक भएर नेपाल आहिरहेका छन् । नेपालका होनहार युवाशक्तीलाइ यो देशमा टिकाउन यहीँ रोजगारको श्रीजना गर्नुपर्ने हो ।’ अबको देश,समाज परिवर्तनमा महिलाहरु तैयार भएर नेतृत्वमा आउनुपर्ने गौतमको भनाइ छ ।
बोल्ने क्रममा पार्टीका केन्द्रिय सदस्य राजाराम स्याङ्तानले अहिले चाड मनाउने नाममा सँस्कार बिर्सेर कुलततिर मानिसहरू फस्दै गएकोले सतर्क रहनुपर्ने बताए ।

यस्तै पार्टीका जिल्ला अध्यक्ष बिष्णु दाहालले भड्किलो गरि चाडपर्व नमनाउन आग्रह गरे । उनले धेरै खर्च गरेर तडकभडक गर्नुभन्दा समाज र भुगोल सुहाउँदो किसिमले सबैले अपनाउन सक्ने गरि चाडपर्व मान्न, मनाउन आग्रह गरे ।
यसैबीच प्रगति लेखक संघकी केन्द्रिय उपाध्यक्ष शान्तिप्रीय बन्दनाले चेतनामुलक मुक्तक र कविता वाचन गरेकी थिइन् भने दोहोरी साँस्क्रितिक समूहले दोहोरी गाउनुका साथै नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रममा सहभागीहरु पनि दोहोरी गीतको तालमा नाच्दै रमाइरहेका थिए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, पार्टीका केन्द्रिय सल्लाहकार परिषद सदस्य यादव गजुरेल, प्रदेश सदस्य कल्पना विश्वकर्मा, रामेश राई, जिल्ला उपाध्यक्ष धुर्ब भुजेल, सचीव किशोर बर्तौला, सचिवालय सदस्य रघुप्रसाद आचार्य, नगर अध्यक्ष बिष्णुमाया लामा लगायत, संघ संगठनका केन्द्रिय, प्रदेश, जिल्लाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।






























