हेटौंडा । हेटौंडा–५ स्थित हेटौंडा सिटी कलेजले त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने चार वर्षे ब्याचलर अफ बिजनेस स्टडिज (बीबीएस) कार्यक्रम निःशुल्क पढाउने घोषणा गरेको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा कलेजले प्रथम वर्षदेखि चौथो वर्षसम्म अध्ययन गर्ने ४० जना विद्यार्थीलाई निःशुल्क शिक्षाको अवसर प्रदान गरिने जानकारी दिएको हो।
कलेजका प्राचार्य श्रीबहादुर कार्कीका अनुसार आर्थिक तथा अन्य कारणले उच्च शिक्षाबाट वञ्चित विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम ल्याइएको हो। विद्यार्थीलाई निःशुल्क लेखा तथा कम्प्युटर तालिमसहित विभिन्न सीपमूलक प्रशिक्षण प्रदान गरिनेछ। अध्ययन पूरा गरेपछि स्वरोजगार तथा व्यवसाय सञ्चालनतर्फ पनि प्रोत्साहन गरिने कलेजले जनाएको छ।
कक्षा–१२ उत्तीर्ण भई आवश्यक जीपीए हासिल गरेका विद्यार्थीले यस कार्यक्रममा सहभागी हुन सक्नेछन्। त्रिभुवन विश्वविद्यालयले तोकेको परीक्षा तथा फाराम शुल्कबाहेक अन्य कुनै शुल्क नलाग्ने कलेजले स्पष्ट पारेको छ। साथै, भर्नाअघि तयारी कक्षा पनि सञ्चालन गरिनेछ।
२०७० सालमा स्थापना भएको हेटौंडा सिटी कलेजमा हाल विद्यालय र कलेज तहमा गरी करिब १ हजार २ सय विद्यार्थी अध्ययनरत छन्। पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमिता पाण्डे तथा प्रशासन प्रमुख सुमन्त सिलवालको उपस्थिति रहेको थियो।


































































