हेटौँडामा सवारी चालकको अट्टेरीपन र ट्राफिक प्रहरीको बेवास्ताले जोखिम निम्त्याउँदै

हेटौंडा / हेटौंडा उपमहानगरपालिका स्थित घरहरू सडक विस्तार गर्ने भन्दै भत्काइएकाले राजमार्गहरू केही साँघुरा भएका छन्। पैदल यात्रुहरूलाई सडक वारपार गर्न मुस्किल परेको छ।

हेटौंडाको मुख्य बजार बुद्धचोक सडकमा पूर्व, पश्चिम, उत्तर र दक्षिण गरी चारै दिशामा जेब्राक्रसिङ रेखा बनाइएको छ, ताकि पैदल यात्रुहरूलाई बाटो काट्न सहज होस्। पैदल यात्रुहरू जेब्राक्रसिङबाटै बाटो काट्ने गर्छन्। तर गाडी कहिले रोकिन्छ र बाटो काटौँला भनेर जेब्राक्रसिङको बीचभागमै मानिसहरू कुरिरहेको दृश्य दिनहुँ देखिन्छ।

सवारी चालकहरू जेब्राक्रसिङमा पनि भीडलाई छिचोल्दै सवारी हुइँकाइरहेका हुन्छन्। त्यहीँ नजिक ट्राफिक प्रहरी र नेपाल प्रहरी उपस्थित भए पनि उनीहरूले खासै वास्ता गर्दैनन्। बरु फुर्सदको समयमा मोबाइलमा व्यस्त देखिन्छन्, तर जेब्राक्रसिङमा पैदल यात्रुले भोगिरहेको समस्या देख्दैनन्।

यदि कसैले जेब्राक्रसिङ छोडेर झुक्किएर बाटो काटेमा ‘घर कहाँ हो?’, ‘मर्न मन छ?’ जस्ता प्रश्नहरू सोधिन्छन्। त्योपनि सभ्य भाषामा बोलेको भए हुन्थ्यो, तर “ओइ” भनेर सम्बोधन गरिन्छ। दुईजना प्रहरी भए भने गफ गर्दै बस्ने तर पैदल यात्रुले भोगिरहेको समस्या भने नजरअन्दाज गर्ने प्रवृत्ति देखिन्छ।

कतिपय दुर्घटना जेब्राक्रसिङमै पनि भएका पाइन्छन्। त्यसमाथि भारतीय गाडीहरूको रवाफ झन् बढी छ। मान्छे उडाइदिन्छु भनेझैँ गरी सवारी चलाउने गरेको देखिन्छ। जानकारहरूका अनुसार भारतीय गाडीहरूले हेटौंडामा धेरै दुर्घटना गराइसकेका छन्।

गत वर्ष मात्र चौकीटोलको तिरतिरे धारामा भारतीय गाडीले ठक्कर दिँदा एउटै घरका दाजुबहिनीमध्ये दाजुको घटनास्थलमै मृत्यु भएको थियो भने बहिनी गम्भीर घाइते भएकी थिइन्। त्यस्तै, गत वर्ष नै हेटौंडाको राप्ती पुल छेउमा हेटौंडा–११ निवासी एक व्यक्तिलाई भारतीय ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। एचआईडीको मुख्य बाटोमा गर्भवती महिलालाई भारतीय गाडीले ठक्कर दिँदा उनको पनि घटनास्थलमै मृत्यु भएको थियो।

एकातिर बाटो साँघुरो छ, अर्कोतिर सवारी चालकहरूले ट्राफिक नियम पालना नगर्दा धेरै दुर्घटना भएका छन्। यसमा सम्बन्धित निकायहरूको केही गैरजिम्मेवारीपन पनि देखिन्छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.