हेटौँडा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुर–१ मा चुनावी गतिविधि तीव्र बनेको छ। उम्मेदवारहरू मतदाताको घरदैलोमा केन्द्रित भएका छन्।
नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर राना ले बुधबार बिहान हेटौंडा उपमहानगरपालिका–१४ बाट घरदैलो अभियान सुरु गरेका छन्। अभियानका क्रममा रानाले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना तथा पार्टीका एजेन्डा प्रस्तुत गरिरहेका छन्।

विकास र पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा सुशासनलाई प्राथमिकतामा राख्दै उनले मतदातासँग समर्थन मागिरहेका छन्। करिब १८ वर्षपछि प्रतिनिधिसभा निर्वाचनमा पुनः प्रतिस्पर्धा गरिरहेका राना २०६४ सालको संविधानसभा निर्वाचनपछि प्रत्यक्ष चुनावी मैदानबाट केही समय टाढा रहेका थिए।
स्वच्छ छवि, संयमित स्वभाव र शालीन राजनीतिक शैलीका कारण स्थानीय राजनीतिमा अलग पहिचान बनाएका रानाले घरदैलो अभियानका क्रममा सकारात्मक प्रतिक्रिया पाइरहेको एमाले स्रोतले जनाएको छ।
मकवानपुर–१ निर्वाचन क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाका १५ वडा, बकैया गाउँपालिका, बागमती गाउँपालिका तथा मकवानपुरगढी गाउँपालिकाका ४ वडा समेटिएका छन्। कुल ४० वडा रहेको यस क्षेत्रमा १३ राजनीतिक दलका १३ र १० स्वतन्त्र गरी २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। यसपटकको प्रतिस्पर्धा कडा हुने आकलन गरिएको छ।



































































