हेटौँडा । नेपाली कांग्रेस की प्रभावशाली नेतृ तथा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना ले मकवानपुर–१ बाट प्रतिनिधि सभा निर्वाचनमा पाँचौँ पटक प्रतिस्पर्धा गर्दै यसपटक परिणाम आफ्नो पक्षमा आउने दाबी गर्नुभएको छ।
यसअघि चार पटक पराजित भइसकेकी डिनाले यसपटक विगतका कमजोरी स्वीकार्दै सुधारिएको रणनीतिसहित चुनावी मैदानमा उत्रिएको बताउनुभयो। उहाँ २०७९ को निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनाव लड्दा राप्रपाका उम्मेदवारसँग २ हजार ३८२ मतान्तरले पराजित हुनुभएको थियो।
डिनाले युवामा लगानी अभाव, महिला सशक्तीकरण, खेलकुद विकास र किसान–कृषि क्षेत्रलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताउनुभयो। मकवानपुरलाई खेलकुद केन्द्रका रूपमा विकास गर्ने, किसानलाई सिँचाइ र मल–बीउमा सहुलियत दिने तथा महिलाको आर्थिक र सामाजिक अधिकार सुदृढ गर्ने प्रतिबद्धता उहाँले दोहोर्याउनुभयो।
अघिल्लो निर्वाचनमा अत्यधिक आत्मविश्वास र पर्याप्त मेहनत अभावले परिणाम प्रभावित भएको स्वीकार गर्दै उहाँले यसपटक घरदैलो अभियानलाई तीव्रता दिएको जानकारी दिनुभयो। “अब कमजोरी सच्याएर अघि बढ्दैछु, कांग्रेस एक ढिक्का भएर लाग्दा जित सम्भव छ,” उहाँले भन्नुभयो।
समानुपातिक मतको आधारमा आफू ‘रेड जोन’मा रहेको विश्लेषणप्रति प्रतिक्रिया दिँदै डिनाले प्रत्यक्ष निर्वाचनको गणित फरक हुने र वर्तमान मत संरचना आफूहरूको पक्षमा रहेको दाबी गर्नुभयो।
विगतमा संघ तथा प्रदेश सरकारसँग समन्वय गरी क्षेत्रका खानेपानी, सडक ढलान, झोलुङ्गे पुल, धार्मिक तथा सांस्कृतिक संरचना संरक्षणलगायत योजनामा योगदान दिएको उल्लेख गर्दै उहाँले “अरबौँ बजेट क्षेत्रभित्र्याएको” दाबी गर्नुभयो।
महिलाले प्रत्यक्ष निर्वाचनमै प्रतिस्पर्धा गरेर जित्न सक्छन् भन्ने सन्देश दिन आफू निरन्तर मैदानमा उत्रिएको बताउँदै डिनाले सांसद हुनु मात्र लक्ष्य नभई जनताबाट अनुमोदित प्रतिनिधि बन्ने चाहना रहेको स्पष्ट पार्नुभयो।
पाँच वर्षको कार्यकाल पाए परिणाममुखी काम गरेर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सोच रहेको उल्लेख गर्दै उहाँले मतदातासँग “एकचोटि न्याय गरिदिनुहोस्” भन्ने आग्रह गरिरहनुभएको छ।



































































