रास्वपाबाट असन्तुष्ट पराजुली कांग्रेसमा फर्किए

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन्। रास्वपा छाडेसँगै उनी पुनः नेपाली कांग्रेस मा फर्किएका हुन्।

रास्वपा मकवानपुरले सोमबार हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा सभा आयोजना गरिरहेका बेला पराजुली भने सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका थिए। रास्वपा मकवानपुरका संस्थापक सभापतिसमेत रहेका उनलाई कांग्रेसका सभापति गगन थापा ले सर्लाही–४ मा आयोजित कार्यक्रममा स्वागत गरेका कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठकले जानकारी दिए।

पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नं. २ का चुनावी संयोजक नीराजन बर्तौला पनि कांग्रेसमा फर्किएका छन्। बर्तौला २०७९ सालको निर्वाचनमा रास्वपाबाट मकवानपुर क्षेत्र नं. २ मा उम्मेदवार बनेका थिए। उनी १२ हजार ५९ मतसहित तेस्रो स्थानमा रहेका थिए।

पार्टी परित्यागपछि पराजुलीले रास्वपाको वर्तमान नेतृत्वले स्थापनाकालीन मूल्यमान्यता र प्रतिबद्धताबाट विचलन गरेको आरोप लगाएका छन्। युवा राजनीतिमा जान्ने र सक्षम व्यक्तिलाई प्राथमिकता दिने, नातावाद–आशीर्वाद तथा आर्थिक प्रभावभन्दा माथि उठेर काम गर्ने प्रतिवद्धता व्यवहारमा कार्यान्वयन नभएको उनको भनाइ छ।

उनले पछिल्लो समय पार्टीले अवलम्बन गरेको निर्णय प्रक्रिया र कार्यशैली विधान तथा सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको दाबी गरेका छन्। संगठनमा समर्पित नेता–कार्यकर्ताको उचित मूल्यांकन नभएको, विधि–विधानविपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा प्रश्न उठाएको उनले बताएका छन्।

यस्तो परिस्थितिमा मौन बस्न नसकिने निष्कर्षसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी अलग हुने निर्णय गरेको पराजुलीले स्पष्ट पारेका छन्।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.